गुरुङको व्यस्तता बढ्दो

काठमाडौं– पछिल्लो समय हास्यकलाकार शेरबहादुर गुरुङ निकै व्यस्त बन्दै आएका छन् । कञ्चनपुरका शेरबहादुरलाई पछिल्लो समय कार्यक्रमहरूको निकै दौडधुपका कारण धेरै व्यस्त बन्दै आएका छन् । शेरबहादुर हास्यकलाकार मात्र नभएर जादूगर पनि भएकाले उनी आजभोली व्यस्त बन्दै गएका छन् । सानैदेखि स्कुलमा हुने कार्यक्रमहरूमा नाच्दै हिंडेका शेरबहादुरलाई कञ्चनपुर छदादेखि नै हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको कलाले आकर्षित गरेको थियो । स्कुले जीवनमा उनी चकचके स्वभावका भए पनि पढाइमा भने चलाख नै थिए । स्कुलमा हुने सांस्कृतिक कार्यक्रममा उनको कलाकारिता देख्नेले धेरै माया गर्थे पनि । स्कुलको प्यारो बनेका शेरबहादुरले एसलएलसीस“गै काठमाडौं प्रवेश गरेपछिका दिनमा कलाकारितालाई आत्मसात गर्ने अठोट लिएका थिए ।

उनले काठमाडौं छिरेपछि डान्स सिक्न थाले । उनको कमेडी, नृत्य देखेर कलाकार विनोद श्रेष्ठले विजय बस्नेतलाई भेट गराए । त्यतिबेला बस्नेतले थोरै भए पुगी सरी टेलिसिरियल गरिरहेका थिए । थोरै भए पुगीसरीमा शेरबहादुरले अभिनय गरेको देखेर त्यसपछि जीवन चक्र, फिरन्ते जस्ता अन्य टेलिसिरियलहरूले पनि उनलाई लिन थाले । ०५८ देखि कलाकारितामा लागेका शेरबहादुरले गोलमाल, जिरे खुर्सानी, तीतो सत्य, मेरी बास्सै जस्ता चर्चित टेलिसिरियलहरूमा पनि अभिनय गरिसकेका छन् ।

त्यस्तै, उनले चलचित्र गोर्खा पल्टन, दुलही, दीपशिखा, परदेशी, दर्पणछायाँ–२, दीपज्योती, सुत्केरी, पुरानो पुस्ता जस्ता चलचित्रमासमेत आफ्नो अभिनय प्रस्तुत गरिसकेका छन् । स्टेजमा उनको कमेडी नृत्य, गायन, क्यारिकेचर मात्र प्रस्तुत हुँदैन उनले जादू पनि देखाउने गर्छन् । प्रत्येक स्टेजमा देखाउने जादूले अझ उनलाई मेला महोत्सवमा स्थान मिलेको छ । उनले गर्ने जादू कसरी सिक्नुभयो भन्ने प्रश्नमा शेरबहादुरले भने– ‘मैले जादूलाई किनेर ल्याएको हुँ ।’ यसको मतलब पैसा तिरेर सिकेको हुँदा ठूलै लगानी परेको छ जादू सिक्नमा, त्यसैले किनेर ल्याएको जस्तै त हो नि उनले भने ।

कलाकारितामा प्रवेश भएसँगै उनी खुशी पनि छन् । मनमा कुनै दोधार छैन उनलाई । कलाकारिताबाटै काठमाडौंको धापासीमा घर जोडेका छन्, आफ्नो लाइफस्टाइल चलेको छ, देश विदेशको स्टेज कार्यक्रम पाइरहेकै छु, अभिनय गर्न पाएकै छु, पैसा कमाइ भएकै छ भने मैले किन चिन्ता लिनु, मेरो मनमा कुनै दोधार छैन खुशी छु, शेरबहादुरले भने । हास्य क्षेत्रमा विभिन्न किसिमका अभिनय गर्न जान्नु पर्छ, आफूभन्दा अगाडिको ठूलो मासलाई हँसाउनु चानचुने कुरा होइन ।

गोर्खा पल्टन चलचित्रमा मैले रुँदा पनि हलमा सबै हाँसे, मलाई लाग्यो अभिनय राम्रो गर्न सकिनकी भन्ने । तर हाँस्य कलाकार रुँदा पनि हाँसेकै अनभूति हुँदो रहेछ भन्ने बुझेँ । मेरा लागि अब कलाकारितामै जन्मिएँ, हुर्किएँ र यसैमा मर्न पाउँ भन्ने लक्ष्यका साथ अघि बढेको छु शेरबहादुरले भने– ‘अबको दिन सबै मेरो कलाकारितामै बित्नेछ ।’