इपीएल क्रिकेटमा ललितपुरलाई हराउँदै भैरहवा फाइनल प्रवेश

काठमाडौं– भैरहवा ग्लाडिएटर्सले ललितपुर प्याट्रिएट्सलाई ३ विकेटले हराउँदै ईपीएलको फाइनलमा प्रवेश गरेको छ ।

अन्तिम ओभरमा १३ रनको आवश्यकता हुँदा रोहितकुमार पौडेलले पहिलो बलमा नै छक्का प्रहार गरे त्यस्तै दोस्रो बलमा पनि लगातार छक्का प्रहार गर्दै उनले स्कोर लेभल बराबरी बनाएका थिए । अन्तिम ओभर सकिन ३ बल बाँकी छँदै रोहितले आफ्नो टिमलाई फाइनलमा पु¥याए। उनले २२ बलमा ३ छक्का र ३ चौका प्रहार गरेका थिए । सन्दिप लामिछानेको बलमा आउट भएकै ओभरमा लगातार ३ छक्का प्रहार गरेका थिए । त्यस्तै, भैरहवाका लागि भुपेन्द्र थापाले १९ रन बनाएका थिए ।

ललितपुरका लागि ललितनारायण राजवंशीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ९ रन दिएर २ विकेट लिए ।

ललितपुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३२ रन बनाउन सक्यो । ललितपुरका लागि जयकिसन कोल्सवालाले उत्कृष्ट ब्याटिङ गर्दै ४२ रन बनाए । उनले ३७ बलमा ५ चौका र २ छक्का प्रहार गरे ।

ललितपुरका लागि दिपेश भण्डारीले अन्तिम ओभरमा उत्कृष्ट ब्याटिङ गर्दै आफ्नो टिमलाई उकासेका थिए । उनले अन्तिम ओभरमा मात्रै २० रन बनाएका थिए । उनले ९ बलमा २ छक्का २ चौका प्रहार गर्दै २२ रन बनाए । त्यस्तै, ललितपुरका लागि सुन्नी पटेलले २४ र कप्तान ज्ञानेन्द्र मल्लले २० रन बनाए । भैरहवाका लागि पुनित मिश्रले २ विकेट लिए ।

शनिबार हुने ईपीएलको फाइनलमा उपाधिका लागि भैरहवा र विराटनगर वारियर्स भिँड्दैछन् ।