उदयपुरमा छैटौँ नारदमुनि गोल्डकप खेल शुरु

उदयपुर(पास)– उदयपुर जिल्लाको चौदण्डी नगरपालिका–५ बसाहामा शुक्रबारदेखि औपचारिक रुपमा छैटौँ नारदमुनि स्मृति गोल्डक फुटबल खेल शुरु भएको छ ।
चौदण्डी नगरपालिकाका प्रमुख खगेन्द्र राईले उद्घाटन गर्नुभएको सो गोल्डकप खेलमा राष्ट्रिय र क्षेत्रीय टिमसहित गरेर आठ टिमले सहभागिता जनाएको कुरा नारदमुनि स्मृति गोल्डकप आयोजकका प्रवक्ता शेखर राईले बताए ।

शुक्रबार उद्घाटन हुँदै पहिलो दिनको खेलमा मोरङको डिएफपी फुटबल क्लबले सुनसरी धरान ११ लाई टाइब्रेकरमा तीनको विरुद्ध चार गोल गरेर मोरङले विजय शुरुवात गरेको आयोजकले बताएको छ । नकाउटको आधारमा खेलाइने उक्त गोल्डकपको प्रथम पुरस्कार राशि रु दुई लाख नगद र कप रहेको छ भने द्धितीय पुरस्कार राशि रु एक लाख नगद र प्रमाणपत्र रहेका छन् ।

राणा शासनका विरुद्ध २००७ सालमा प्रजातान्त्रिक योद्धा भई प्रजातन्त्रको लागि लडाइँ लडेका र सो समयमा भूमिगत सञ्चारकर्मी भई पूर्वमा राणा विरोधी गतिविधिको लागि भोजपुर धनकुट्टामा भूमिगत रेडियोसमेत सञ्चालन गरेका नारदमुनि थुलुङको स्मृतिमा नारदमुनि स्मृति गोल्डकप स्थापना गरेर प्रत्येक वर्ष सञ्चालन हुँदै आएको आयोजकले बताएको छ ।