‘कान्छी’को ‘चरी चट्ट परी’

अहिलेको तीब्र गतिको इन्टरनेटको समयमा कुनै पनि गीत संगीतको मापन यु ट्युबबाट हुन थालेको छ । नेपालमा सिर्जित गीत यु ट्युबमा २ करोड भन्दा धेरै पटक हेरेका रेकर्ड पनि बनिरहेका छन् ।

स्वेता खड्का र दयाहाङ रार्इ अभिनित चलचित्र कान्छीको ‘चरी चट्ट परी’ गीतको भिडियो अहिले यु ट्युबमा लोकप्रिय बनिरहेको छ ।

यो गीतको भिडियो यु ट्युबमा अपलोड भएको २४ घन्टा नबित्दै ४ लाख भन्दा धेरै पटक हेरिसकिएको छ । युटुबमा कुनै नेपाली चलचित्रको गीत २४ घन्टामा सर्वाधिक हेरिएको रेकर्ड अब ‘कान्छी’ को ‘चरी चट्ट परी’ राख्न सफल भएको छ ।

माघ २६ गतेदेखि रिलिज हुने यो चलचित्रको निर्देशन आकाश अधिकारीले गरेका छन् । यो चलचित्रमा स्वेता खड्का, दयाहाङ राई, भूमिका श्रेष्ठ, निर शाह, अनु शाह, प्रज्वल र सुजल गिरीसहितका कलाकारको अभिनय हेर्न पाइने छ।

यो गीतमा शब्द संगीत राजनराज सिवाकोटीको छ । गीतमा अन्जु पन्त र राजनराजको स्वर सुन्न पाइन्छ । यो गीतलाई मन पराइदिएपछि नायिका तथा निर्मात्री स्वेता खड्काले खुसी व्यक्त गरेकी छन् । शनिबार अपरान्ह ३ बजेसम्म यो गीत यु ट्युबमा ६ लाख ५ हजार ७ सय पटक हेरिसकिएको छ ।