ठूला बैंकहरुको नाफा घट्यो

पाथिभरा संवाददाता
काठमाडौं– ठूला बैंकहरुको नाफा यो त्रैमासिकमा घटेको छ । चालु आव ०७४÷७५ को पहिलो त्रैमाशमा सनराइज बैंक र बैंक अफ काठमाण्डुको नाफा स्वात्तै घटेको हो ।
सनराइजले यो अवधिमा करिब १७.३७ प्रतिशतले नाफा घटाएको छ भने बैंक अफ काठमाण्डुको नाफा करिब १७.३१ प्रतिशतले घटेको छ ।
यो अवधिमा सनराइजको नाफा २० करोड रुपैयाँमा सिमित भएको छ । गत आवको बैंकले पहिलो त्रैमाशमा २५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।
सनराइजको सञ्चालन नाफा पनि १७ प्रतिशतले घटेर २५ करोड रुपैयाँमा सिमित भएको छ । बैंकको खुद व्याज आम्दानी १.५ प्रतिशतले बढेको छ ।
यो रकम ५२ करोड पुगेको छ । त्यस्तै, फ्रि कमिसन, अन्य आम्दानी शीर्षकबाट १८ करोड रुपैयाँ आर्जन गरेको छ । यो रकममा १२ प्रतिशतले वृद्धि भएको हो ।
बैंकको निक्षेप ११.७३ प्रतिशतले बढेर ६० अर्ब पुगेको छ । कर्जा १७ प्रतिशतले वृद्धि भएर ५४ अर्ब पुगेको छ । बैंकको निक्षेपको तुलनामा कर्जाको अनुपात ९०.१७ प्रतिशत देखिन्छ । तर प्राथमिक पूँजी सहितको निक्षेपको आधारमा भने कर्जाको अनुपात ७६.७४ प्रतिशत रहेको बैंकको वित्तीय विवरणमा उल्लेख छ ।
बैंकको कुल कर्जा लगानीमा ४८ प्रतिशत लगानी रियल इस्टेट, सेयर कर्जा र ओभरड्राङ्खट कर्जा रहेको छ । यी क्षेत्रमा २६ अर्ब ३१ करोड रुपैयाँ लगानी भएको छ ।
बैंकले सम्भावित नोक्सान वापतको व्यवस्थामा १५करोड रुपैयाँ राखेको छ । बैंकको खराब कर्जाको अनुपात १.४९ प्रतिशत रहको छ । करिब १४१ प्रतिशत प्रोभिजनिङ गरेको उल्लेख छ ।
बैंकको सेयरमा प्रतिफल करिब १६ प्रतिशतबाट घटेर ८.४४ प्रतिशत भएको छ । बैंकको चुक्ता पूँजी करिब ३ अर्बले बढेपछि सेयरमा प्रतिफल घटेको हो । बैंकको चुक्ता पूँजी ८ अर्ब १५ करोड पुगेको छ भने सञ्चिती १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी ९.९९ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३३.१२ गुणा र प्रतिसेयर नेटवर्थ १ सय २१ रुपैयाँ रहेको छ ।
यस्तै, बैंक अफ काठमाण्डु गत आवको बैंकले पहिलो त्रैमाशमा २७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यस आवको पहिलो त्रैमासिकको अवधिमा बैंकको सञ्चालन नाफा पनि २५ प्रतिशतले घटेर २९ करोड रुपैयाँमा सिमित भएको छ ।