एपीएफ र आर्मी सुपर लिगमा प्रवेश

काठमाडौं– राखेप च्याम्पियनसिपअन्तर्गत १६औँ राष्ट्रिय महिला फुटबल लिग च्याम्पियनसिपको सुपर लिगमा विभागीय टिम एपीएफ क्लब प्रवेश गरेको छ । लगातार दुई खेलमा भारी गोलअन्तरले जित हात पार्दै एपीएफ क्बल सुपर लिगमा प्रवेश गरेको हो ।

ललितपुरस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा एपीएफले पश्चिमाञ्चललाई १४–० गोलअन्तरले पराजित गरेको हो । यसअघि भएको पहिलो खेलमा एपीएफले मध्यपश्चिमाञ्चल क्षेत्रलाई २६–० गोलको भारी अन्तरले पराजित गरेको थियो ।

एपीएफको जितमा सावित्रा भण्डारीले डबल ह्याट्रिकसहित ८ गोल गरिन् । उनले खेलको छैटौं मिनेटमा नै गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । खेलको २७ र ३३ औं मिनेटमा तेस्रो गोल गर्दै सावित्राले ह्याट्रिक पूरा गरेकी हुन् । उनले खेलको पहिलो हाफको अतिरिक्त समय तथा ५० र ५४ औं मिनेटमा पुनः गोल गर्दै दोहोरो ह्याट्रिक पूरा गरिन् । सावित्राले ८ गोल गर्ने क्रममा ६६ र ८९ औं मिनेटमा गोल गरेकी थिइन् ।

यसअघि पनि एपीएफले मध्यपश्चिमाञ्चल क्षेत्रलाई २६–० गोलले पराजित गर्दा सावित्राले १२ गोल गरेकी थिइन् । सावित्राले जारी प्रतियोगितामा २ खेलबाट २० गोल गरेकी छिन् भने ६ ह्याट्रिक पूरा गरिन् ।

त्यस्तै, एपीएफको जितमा रेखा पौडेल र अनिता केसीले समान २–२ गोल गरे । एपीएफले मश्चिमाञ्चललाई पराजित गर्ने क्रममा कप्तान रेनुका नगरकोटी र अनिता बस्नेतले पनि १–१ गोल गरिन् ।

बुधबार नै भएको अर्को खेलमा आर्मीले मध्यपश्चिमाञ्चललाई १२–० गोलअन्तरले पराजित गर्दै सुपर लिगमा स्थान बनाएको छ । आर्मीको जितमा सपना लामाले ह्याट्रिकसहित ४ र शर्मिला थापामगरले ह्याट्रिकसहित ४ गोल गरिन् । त्यस्तै, कप्तान कृष्णा खत्री र दिपा राईले समान २–२ गोल गरिन् ।