सन् २०१८ मा हुने केही महत्वपूर्ण खगोलीय घटनाहरु यस्ता छन्

अंग्रेजी नयाँ वर्ष २०१८ मा दुई वटा खग्रास चन्द्र ग्रहण र दुई वटा खण्डग्रास सूर्य ग्रहण परेका छन् । चन्द्रग्रहण नेपालबाट पनि स्पष्ट देख्न सकिने छ भने सूर्यग्रहण नेपालबाट देख्न सकिने छैन ।

यो वर्षमा हुने केही महत्वपूर्ण खगोलीय घटनाहरुबारे संक्षिप्त विवरण यहाँ प्रस्तुत गरिएको छः

१८ पुस, २०७४ (जनवरी २०) वर्षको पहिलो पूर्णिमा हुनेछ ।

१७ माघ (जनवरी ३१) पूर्णिमा, सुपर मून (अन्य पूर्णिमामा भन्दा चन्द्रमा ठूलो देखिनेछ), ब्लू मुन (चन्द्रमा निलो रंगको देखिने छ)

१७ माघ (जनवरी ३१) खग्रास चन्द्र ग्रहण पनि यसै दिन छ । नेपालबाट साँझ ५ः३५ देखि देख्न सकिने चन्दग्रहण ६ः३८ देखि ७ः५४ सम्म पूर्णग्रहण लागेको अवस्थामा देख्न सकिनेछ ।

३ फागुन (१५ फेब्रुअरी) खण्डग्रास सूर्य ग्रहण (यो ग्रहण नेपालबाट देखिने छैन)

१ चैत (१५ मार्च) बुधग्रह पृथ्वीबाट देखिने छ । नेपालबाट बेलुका ७ः२२ बजे पश्चिमी क्षितिजमा ११ देखि १८ डिग्रीको कोणमा बुध ग्रह ठम्याउन सकिनेछ ।

२६ वैशाख, २०७५ (९ मे) बृहस्पति ग्रह पृथ्वीको नजिक आइपुग्नेछ । नेपालबाट बेलुका ७ः१० देखि पूर्वी क्षितिजमा देखिने यो ग्रह अर्को दिन विहान पौने ५ बजेसम्म दक्षिणी क्षितिजमा करिब ७ डिग्रीको कोणमा देख्न सकिनेछ ।

७ असार (२१ जुन) वर्षको सबैभन्दा लामो दिन (सबैभन्दा छोटो रात) हुनेछ ।

१३ असार (२७ जुन) शनी ग्रह पृथ्वीको नजिक आइपुग्ने छ । नेपालबाट बेलुका ७ः४६ देखि विहान ४ः२६ सम्म देखिने यो ग्रह मध्यरातमा पूर्वदक्षिणी क्षितिजमा करिब ३९ डिग्रीको कोणमा स्पष्ट देखिनेछ ।

२९ असार (१३ जुलाई) खण्डग्रास सूर्य ग्रहण, दक्षिणी अष्ट्रेलिया र अन्टार्कटिकाबाट मात्र देखिने छ ।

११ साउन (२७ जुलाई) खग्रास चन्द्र ग्रहण । नेपालबाट बेलुका करिब ७ः१५ बजे दक्षिणपूर्वी क्षितिजमा २४ डिग्री माथि चन्द्रग्रहण देख्न सकिनेछ ।

११ साउन (२७ जुलाई) मंगल ग्रह पनि यसै दिन पृथ्वीको नजिक आइपुग्ने छ । नेपालबाट बेलुका करिब ८ बजेदेखि रातभर नै दक्षिणपूर्वी क्षितिजमा मंगलग्रह देख्न सकिनेछ ।

२६ साउन (११ अगस्त) खण्डग्रास सूर्य ग्रहण । नेपालबाट यो सूर्यग्रहण देख्न सकिने छैन ।

१ भदौ (१७ अगस्त) शुक्र ग्रह पृथ्वीबाट स्पष्ट देख्न सकिने छ । नेपालबाट बेलुका करिब ७ बजेदेखि ८ः४६ बजेसम्म पश्चिमी क्षितिजमा २३ डिग्रीमाथि यो ग्रह देखिनेछ ।

२२ भदौ (७ सेप्टेम्बर) वरुण ग्रह पृथ्वीबाट देख्न सकिनेछ । नेपालबाट राति ८ः३० देखि दक्षिण पूर्वी क्षितिजमा करिब २४ डिग्री माथि यो ग्रह हेर्न सकिनेछ ।

८ असोज (२४ अक्टूबर) अरुणग्रह पृथ्वीबाट देख्न सकिनेछ । नेपालबाट बेलुका करिब ७ बजेदेखि पूर्वी क्षितिजमा २० डिग्री माथि देखिने यो ग्रह बिहान ४ः३४ बजे पश्चिमी क्षितिजबाट अस्त हुनेछ ।

६ पुस (२१ डिसेम्बर) वर्षकै सबैभन्दा लामो रात (सबैभन्दा छोटो दिन) हुनेछ । हिमालखबर लेख्छ ।