टीका खतिवडा, इलाम– इलाम नगरपालिका–८ का ८४ वर्षीय जैइबहादुर तामाङले मोतियाबिन्दुका कारण आँखाको ज्योति गुमाएको लामो समय भइसकेको थियो । उज्यालो संसारबाट धेरै समय टाढा रहेका तामाङले हालै इलाममा भएको शल्यक्रियापछि पुनः आँखा देख्न थालेका छन् भने उनले पुनर्जीवन नै पाएको अनुभव गरेका छन् ।
आँखा नदेखे पनि डाक्टरले आँखा झिकिदिन्छन् भन्ने डरले उपचार नै गराउन नजानु भएका तामाङलाई भतिजी चन्द्रकलाले बल्ल बल्ल आँखा शिविरमा ल्याएकी थिइन् ।
उपचारका लागि उनलाई नेपाल नेत्र ज्योति संघ, इलाम र विराटनगर आँखा उपचार केन्द्र, विराटनगरद्वारा इलाम सदरमुकाममा सञ्चालित मोतियाबिन्दु भएकाको निःशुल्क शल्यक्रिया शिविरमा उनले नै ल्याएकी थिइन् ।
उपचारमा ल्याउँदा बाटोमा समेत आँखा हराउँछ भन्ने डर उनमा थियो । भतिजी चन्द्रकलाले भनिन्, ‘बाटोमा समेत सारै डराउनु भएको थियो, आँखा छाम्दै–छाम्दै आउनुभको हो ।’
आँखाको उपचार त के, उनी आँखा जाँच गर्न नै डराउउँथे । मंगलबार पनि उनले उपचार गराउन नमानेपछि डाक्टर मनिष पाण्डेको टोली नै लागिपरेर जबर्जस्ती जस्तै गरी शल्यक्रिया गरेको थियो ।
बिहान एउटा आँखामा पट्टि बाँधेर अस्पताल परिसरमा देखिएका तामाङ निकै निरास देखिन्थे । उनको मनभरि निराशा छाएको थियो भने डाक्टर मनिषदेखि उनी रिसाएका थिए । उनकी भतिजीदेखि त झन् धेरै रिसाएर बर्बराउन नै थालेका थिए ।
रिसाएका तामाङलाई डाक्टरको टोलीले अन्य २४ जना शल्यक्रिया गरेको टोलीसँगै जब कुर्सीमा राखियो । उनको सहाराका रुपमा रहेको लठ्ठी एकातिर राखियो । तामाङलाई आफ्नो लठ्ठी कहाँ छ भन्ने नै थाहा थिएन ।
डाक्टर पाण्डेले आँखा सफा गर्दै आँखा खोल्न आग्रह गरे । तामाङले आँखा त खोले, तर चम्किलो अनुहार लगाएर टोलाइ मात्र रहे । उनकी भतिजी आएर सोधिन्, ‘म को हो ?’ तामाङ एकै छिन टोलाए अनि आफ्नो असीम खुशी छल्काउँदै भने, ‘उम्…. नानी…..’, त्यसपछि सबैको हाँसो गुन्जियो, सबैमा खुशी छायो ।
तामाङलाई डाक्टर मनिषले सोधे– ‘म को हो ?’ तामाङले खुशी भएर हेर्दै ‘नमस्कार डाक्टर !’ भने । डाक्टर मनिषको मुहारमा पनि खुशी छल्केको थियो । तामाङले सबैलाई पालैपालो हेर्दै नमस्कार गर्न थाले । डाक्टर मनिषले उनको छेउमा गएर मोबाइल निकाल्दै उहाँलाई देखाउँदै सेल्फी खिच्न आग्रह गरे ।
जब उपचार भयो, कसोकसो गर्दा उनले आफ्नो जुत्ताको लेस खुस्केको थाहा पाए । अनि बोली पनि नबुझिने गरी कराउन थाले । तामाङकी भतिजी सो बेला बाहिर गएकी रहिछिन् । जुत्ताको लेस हेर्दै कराउन थालेपछि अर्का एक अधबैंसेले उनको लेस बाँधिदिन खोजे । तामाङ अझ झाँेक्किएर आफ्नो लेस आफैँ बाँध्ने बताए । लामो समयदेखि अर्कैले कपडा लगाइ दिने, अर्कैैले नुवाइधुवाइ गरिदिने र लगभग परनिर्भर जस्तै तामाङले जुत्ताको लेस आफैँ बाँधे ।
भतिजीले उनको बारेमा बताउन थालिन्, डाक्टर र उपस्थित सबै छक्क परे । फिल्मी शैलीमा जस्तै अचानक उनमा आएको परिवर्तनले डाक्टर र उनका आफन्तजनमा समेत खुशीयाली छाएको थियो । यति छिटो यस्तो परिवर्तन हुन्छ भन्ने नसोचकी भतिजीले समेत छक्क पर्दै भनिन्, ‘पहिले नै उपचार गराउन जाउँ भन्दा कुट्न खोज्नुहुन्थ्यो ।’ डाक्टर मनिष पाण्डे नेतृत्वको टोली पनि दंग प¥यो । धेरै यस्ता उपचार गराए पनि यो उपचारले डाक्टर हुनुमा गौरव महसुस भएको उनले बताए ।
जब शिविरमा डाक्टरले जाँच गर्न थाले तबसम्म पनि आँखा देख्न सक्छु भन्ने विश्वास आफूमा नपलाएको तामाङले बताए । आँखाको शल्यक्रिया पछि उनले संसारको उज्यालो जब अलिअलि देख्न थाले, तब तामाङले पहिला नै किन उपचार नगरेको भन्ने पश्चाताप आफूमा छाउन थालेको बताए । उनले शिविरबाट नयाँ जीवन पाएको महसुस गरेको बताए ।
इलाम अस्पतालमा मंगलबार बिहान देखिएको यो दृष्यले सबै मोतियाबिन्दुका बिरामीलाई शल्यक्रिया गरे आँखाको ज्योति फेरि फर्कने रहेछ भन्ने विश्वास गर्न ठूलो मद्दत पुगेको छ । तामाङको एउटा आँखाको मात्र शल्यक्रिया गरिएको छ । अब उनी आफैँ अर्को आँखाको शल्यक्रिया गराउन तम्तयार देखिएका छन् ।
उमेर बढेसँगै मानिसमा मोतियाबिन्दु हुने डाक्टर मनिष पाण्डे बताउँछन् । उनले मोतियाबिन्दुको निश्चित औषधि नभएको बताउँदै उत्तम विकल्प भनेको शल्यक्रिया नै भएको बताए । इलाममा मोतियाबिन्दु भएकाका लागि तीनदिने निःशुल्क शिविर भइरहेको छ । सोमबारदेखि सुरु भएको शिविर बुधबार सकिएको छ ।
पहिलो दिन २५ जना र दोस्रो दिन ३१ र तेस्रो दिन १९ को निःशुल्क शल्यक्रिया भएको आयोजक नेत्रज्योति संघ, इलामका सहसचिव प्रकाश भट्टराईले जानकारी दिए । शिविरमा एक हजार ५०० भन्दा बढीले आँखा जाँच गराएको उनले बताए ।