आन्तरिक पर्यटकले भरिभराऊ सौराहा

रत्ननगर (पास)– पर्यटकीय गन्तव्य चितवनको रत्ननगरस्थित सौराहामा अंग्रेजी नयाँ वर्ष २०१८ का कारण पर्यटक भरिएका छन् ।

यहाँ रहेका ११० होटल आन्तरिक पर्यटकले भरिएका क्षेत्रीय होटल संघ चितवन, सौराहाका महासचिव राममणि खनालले जानकारी दिए । ‘करिब करिब १५÷२० प्रतिशत बाह्य पर्यटक छन्, खनालले भन्नुभयो, अरु सबै आन्तरिक पर्यटकले होटल भरिभराउ भयो ।’

आइतबार साँझ आएका कतिपय पर्यटकलाई कोठा पाउनसमेत समस्या परेको व्यवसायीले बताएका छन् । बाह्य पर्यटकमा भारतबाट धेरै आएका छन् । अन्य तेस्रो मुलुकका पर्यटक भने न्यून छन् ।

सौराहामा सुविधायुक्त ११० होटलमा दैनिक दुई हजार ८०० पर्यटक राख्न सकिने क्षमता छ । अंग्रेजी नयाँ वर्ष मनाउन आएका पर्यटक गएराति १२ बजेसम्म सौराहामा विभिन्न सांगीतिक कार्यक्रमको रमाइलोमा भुलेका थिए । रामचन्द्र काफ्ले, जुनु रिजाल, डिवी लोप्चनलगायतले गीत गाएर मनोरञ्जन गराएका थिए ।

गएराति सौराहाको राप्ती किनारमा रहेको पव रेष्टुरेन्ट पर्यटकले खचाखच थियो भने यहाँका ठूला होटल आफैँले पनि सांगीतिक कार्यक्रम आयोजना गरेर पर्यटकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

सौराहाका पर्यटन व्यवसायी ऋषि तिवारीले पुस ११ गतेदेखि शुरु भएको चितवन हात्ती महोत्सवदेखि नै पर्यटकको चहलपहल बढेकोमा आइतबार भने पर्यटक नयाँ वर्ष मनाउन सौराहामा बढी पर्यटक आएको बताए ।

सौराहामा यसपालि नयाँ वर्ष विशेष सांगीतिक कार्यक्रमसमेत राखिएको थियो । पर्यटकले कार्यक्रममा भरपुर मनोरञ्जन लिए । सौराहाका पर्यटन व्यवसायी तथा चितवन भिलेज रिसोर्टका सञ्चालक राजेन्द्र भण्डारीले नयाँ वर्षमा आन्तरिक पर्यटकको उल्लेख्य उपस्थिति रहेको बताए ।