इशाले जितिन् पहिलो मिस गोरखाको ताज

गोरखा (पास)– गोरखाकी १९ वर्षीया इशा शाहले ‘मिस गोरखा–२०१७ ब्युटी एण्ड ब्रेन’को उपाधि जितेकी छन् । बिहीबार राति सकिएको प्रतियोगिताको ग्राण्ड फिनालेमा इशाले निर्णायक चरणमा सोधिएको प्रश्नको उत्कृष्ट जवाफ दिँदै पहिलो मिस गोरखा भएकी हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, महिला उद्यमी विकास समितिकी अध्यक्ष एवं सौन्दर्यकला व्यवसायी महासंघकी अध्यक्ष कमला श्रेष्ठले इशाको शिरमा ताज पहि¥याइदिइन् ।

साथै, निर्णायकले नगद र जिन्सी गरी एक लाख बराबरको पुरस्कार इशालाई दिनुभयो । सौन्दर्यकला व्यवसायी संघले गरेको प्रतियोगितामा २० जना प्रतिस्पर्धी सहभागी थिए ।

ठूलो आँगनकी प्रकृति श्रेष्ठ फस्ट रनर अप हुँदै नगद र जिन्सी गरी ५० हजार बराबरबाट पुरस्कृत हुनुभयो भने सेकेण्ड रनर अप बसपार्ककी विष्णु घलेले ३० हजार बराबरको र थर्ड रनर अप चाइनीज धाराकी सिर्जना मगरले नगद र जिन्सी गरी १० हजारभन्दा बढीले पुरस्कृत भए ।

सौन्दर्यकला व्यवसायी संघकी अध्यक्ष सुकु श्रेष्ठले आफूहरूले दुःख गरी पहिलो पटक मिस गोरखाको सफल आयोजना गरेको भन्दै सहयोग गर्नेहरूलाई धन्यवाद दिइन् ।