जनताले अपेक्षा गरेजस्तो घरदैलोमा सिंहदरबार पुगे पनि सास्ती उस्तै

रामचन्द्र न्यौपान, डोल्पा– सिंहदरबारको अधिकार घरदैलोमा भन्ने कुरा डोल्पाली जनताको हकमा भने लागू हुन सकेको छैन ।

विकट हिमाली जिल्ला डोल्पामा काम परेका बेला जनप्रतिनिधि र कर्मचारी नभेटिने गरेपछि जनताले पहिलेकै जस्तो सास्ती खेप्नुपरेको छ । यतिखेर जिल्लाका आठ स्थानीय तहमध्ये अधिकांश स्थानीय तहमा सचिव र अध्यक्ष कार्यालयमा नभेटिने गरेपछि जनतालाई पञ्जीकरण, सिफारिशलगायत सुविधा लिन समस्या भएको छ ।

दुई नगरपालिका र छ गाउँपालिका गरेर ६५ वटा वडा रहेको डोल्पामा १८ वडा सचिवले सबै वडा धानेका छन्, बाँकी ४७ वटा वडा सचिवविहीन छन् । ‘एघार वडा रहेको ठूलीभेरी नगरपालिकामा यो समयमा एक जना मात्र वडा सचिव छन्, कोही नभएपछि दिनमा सेवा लिन आउने २० देखि ३० जनाको काम म गरिदिन्छु’, ठूलीभेरी नगरपालिकाका सहजकर्ता दिलु केसी बताउँछिन् ।

शे–फोक्सुन्डो गाउँपालिकाका जनता सात दिन लगाएर नागरिकता र नाबालक परिचयपत्र बनाउन सदरमुकाम दुनै पुग्दा सचिव नभएर काम नभएको शे–फोक्सुन्डो– २ का कुञ्जाङ गुरुङ बताउँछन् । वडा सचिव र अध्यक्ष नभएपछि सिफारिशका लागि दिनभर जिल्ला समन्वय समितिका सहसंयोजकको घरमा बसेर सिफारिश ल्याएको छिरिक फुँञ्जो गुरुङ दुखेसो पोख्छन् । जनप्रतिनिधि र कर्मचारी नभेटिँदा उनीहरूको घरघर धाउँदै हप्ताँै दिन बितेको उनले बताए ।

डोल्पामा छ वडा सचिव जिल्लाका विभिन्न स्थानीय तहको निमित्त कार्यकारिणी अधिकृतको जिम्मेवारी लिएर काम गरिरहेका छन् । गाउँगाउँमा सिंहदरबार पुगे पनि उपल्लो डोल्पावासीलाई सचिव र अध्यक्ष खोज्दै हप्तौँ हिँडेर सदरमुकाम पुग्नुपर्ने बाध्यता कायमै रहेको उपल्लो डोल्पावासीको गुनासो छ ।

वडाध्यक्षलाई सिफारिश गराउन जाँदा पनि दिनभर हिँड्नुपर्ने समस्या कायमै रहेको उपल्लो डोल्पालीले बताएका छन् । ‘वडाका अध्यक्षबाट हुने काम सबै काम सदरमुकाम दुनै पुगेर समन्वयका कर्मचारीबाट गराउनुपर्ने बाध्यता छ, कहाँबाट भयो घरघरमा सिंहदरबार ?’ छार्काकी कुङापुटी लामाले प्रश्न गरे, ‘नौ महिना अगाडि जस्तो थियो अहिले पनि उस्तै छ डोल्पाली जनताको काम छोडेर काठमाडौँ बस्ने जनप्रतिनिधिलाई भोट दिएर बेकार भयो ।’

डोल्पाका स्थानीय तहका प्रमुख उपप्रमुख, वडाध्यक्ष कर्मचारी सबैले राजधानी केन्द्रित भएर जनताको काम ठप्प गराएको उनी भन्छन् । हिउँदका समयमा जनप्रतिनिधि र कर्मचारी जनताको काम छाडेर तराईतिर झरेपछि जनतालाई सास्ती भएको नागरिक अगुवा सुरेन्द्र ढकालले बताए । जनताको काम अघिल्लो संरचनाभन्दा पनि जनप्रतिनिधि आइसकेपछि झनै ओझेलमा परेको उनको भनाइ छ । कर्मचारी र जनप्रतिनिधिको जाडो छल्न जाने प्रवृत्तिबाट डोल्पालीको सेवा प्रवाह रोकिएको ढकाल बताउँछन् ।

स्थानीय सरकार गठन भएको नौ महिना बितिसक्दा समेत जनताले स्थानीय सरकारको अनुभूति गर्न नपाएको नेपाल पत्रकार महासंघ डोल्पाका अध्यक्ष तथा युवा बबीकिशोर गुरुङले बताए । ‘जिल्लाका ४७ वडा अझै सचिवविहीन छन्, भएका सचिव पनि विभिन्न बहानामा जिल्ला बाहिर गएका छन्, आजभोलि जनताको दैनिक काम प्रभावित भएको छ’, त्रिपुरासुन्दरी नगरपालिकाका बासिन्दाले सुमन थापाले भने ।