विवेक र क्षमता नहुँदा सरकार गठनमा गतिरोध आएको : नेम्वाङ

काठमाडौं–नेकपा (एमाले) का नेता सुवास नेम्वाङले संविधानले दिएका अधिकार र कर्तव्यको परिपालन वुद्धि विवेक र क्षमताले नगर्दा अहिलेको नयाँ सरकार गठनमा गतिरोध आएको बताएका छन् ।

संघीय मामिला तथा कानून विभाग अनेरास्ववियुले शनिबार आयोजना गरिएको ‘सत्ता हस्तान्तरणको वर्तमान गतिरोध तथा तीन तहको जनउत्तरदायी सरकारः अधिकार र कर्तव्य’ विषयमा गरेको अन्तक्र्रियामा उनले सो कुरा बताएका हुन् । संविधानको गलत व्याख्या गरेर नयाँ सरकार गठनको गतिरोध हट्न नसकेको भन्दै उनले थपे, ‘संविधानको कमजोरीले नयाँ सरकार गठनमा अड्चन आएको भनेर व्याख्या गरियो । गतिरोध हट्नका लागि संविधानको कमजोरी छैन । हाम्रौ कमजोरी हो ।’

उनले वाम गठबन्धन मिल्नुको कुनै पनि विकल्प नभएकाले चाँडै नै दुई पार्टी एमाले र नेकपा (माओवादी केन्द्र)पार्टी एकता जाने बताए । उनले भने, अब पार्टी एकता नहुने भन्ने प्रश्न नै आउँदैन, पार्टी एकता हुन्छ र त्यो पनि चाँडै नै हुन्छ ।’

माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् नगर्दा नयाँँ सरकारमा ढिलाइ भएको बताए । उनले भने, ‘अहिलेको सरकारले विभिन्न वाहना बनाई सरकारको आयु लम्बाई रहेको छ ।’ उनले सरकारले चाहेमा नयाँ सरकारका लागि कानूनी जटिलता भए पनि फुकाउन सकिने वातावरण भए पनि सो नगरेको बताए । उनले सरकारले परिमाणलाई सर्हष स्वीकार गर्न नसक्दा नयाँ सरकार गठनमा ढिलाई भएको उनकोे धारणा छ ।

अनेरास्ववियुका अध्यक्ष नवीना लामाले अब बन्ने सरकारले विद्यार्थीको हकहितका लागि ध्यान दिनुपर्ने सुझाव दिईन् ।

कार्यक्रममा एमालेका पोलिटब्यूरो सदस्य परशुराम मेघी गुरुङले नयाँ सरकारले नयाँ योजना र नीति ल्याएर मुलुकलाई समृद्धि बनाउने बताए ।