राष्ट्रियसभा सदस्य चुन्न कुन प्रदेशमा कति मतदाता ?

काठमाडौं (पास)– प्रदेशसभाका सांसदले आज शपथ लिएसँगै अवरुद्ध राजनीतिक प्रक्रिया अगाडि बढेको छ । अव सवैको ध्यान राष्ट्रियसभा सदस्य निर्वाचनमा केन्द्रित भएको छ ।

निर्वाचन आयोगले आज नै राष्ट्रियसभा सदस्यको नाम सार्वजनिक गर्दै राष्ट्रियसभा सदस्य निर्वाचन गर्न प्रक्रिया थालेको हो । दलहरु पनि अव प्रदेश सरकार गठन र राष्ट्रियसभा निर्वाचनमा एकै साथ लागेका छन् ।

सरकारले माघ २४ गते राष्ट्रियसभा सदस्यको निर्वाचनका मिति तोकेको थियो । त्यहीँ अनुसार आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो ।

प्रदेश सांसदको मतभार ४८ र स्थानीय निकाय प्रमुख र उपप्रमुखको १८ हुनेछ । यहीँ मतभारका आधारमा हरेक प्रदेशबाट ८ जना सदस्य राष्ट्रियसभाका लागि चुनिनेछन् ।

दुई गठबनन्धन बनाएर प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन लडेका दलहरुले राष्ट्रियसभा सदस्य निर्वाचनमा पनि पुरानै गठबन्धनका आधारमा चुनाव लडने तयारी गरेका छन् ।

बाम र लोकतान्त्रिक गठबन्धनवीच राष्ट्रियसभा सदस्यको चुनाव हुनेछ ।

एमाले र माओवादी बामगठबन्धनमा छन् । कांँग्रेस–राजपा नेपाल र संघीय समाजबादीबीचको गठबन्धनमा छन् ।

राष्ट्रियसभामा ५६ सांसद निर्वाचित हुने छन् । अरु निर्वाचनजस्तो आममतदता यो निर्वाचनका हुने छैनन् ।

माघ १० गते राष्ट्रियसभाका लागि उम्मेदवारी दर्ताको दिन तोकिएको छ ।

चुनावका लागि हरेक प्रदेशको उच्चअदालत रहेको स्थानमा मुख्य निर्वाचन अधिकृतको कार्यलय तोकिएको छ ।

जसमा बाम गठबन्धनले आफ्नो मतदाता अनुसार ४२ सिट जित्ने आँकलन गरेको छ, त्यहीँ अनुसार उसले उम्मेदवारी दिने तयारी गरेको छ । १४ सिटमा बामगठबन्धनका उम्मेदवार हुने छैनन्, जहाँ कांग्रेसलगायतको गठबन्धनले जित्ने सम्भावना छ । राष्ट्रियसभाका तीन सदस्य राष्ट्रपतिले मनोनित गर्ने संबैधानिक व्यवस्था छ ।

प्रदेश प्रमुख नहुँदा गत मंसिर १० र २१ गते भएको प्रदेश तथा प्रतिनधिसभाको निर्वाचनको नतिजा आयोगले बुझाउन पाएको थिएन । तर, सरकारले अस्थायी मुकाम र प्रदेश प्रमुख नियुक्त गरेपछि रोकिएका काम अगाडि बढेका हुन् ।

आइतबारमात्रै प्रदेशसभाका प्रत्यक्षतर्फ निर्वाचित ३३० र समानुपातिक तर्फका २२० मध्ये अधिकांशले शपथ लिएका हुन् ।

प्रदेश नं १ मा कसका कति मतदाता ?

प्रदेश नं १ मा सवैभन्दा बढि प्रदेश सांसद एमालेका छन् ।

यहाँ एमालेका ५१ सांसद छन् ।

त्यसैगरी दोस्रोमा कांग्रेसका २१, माओवाद १५ संघीय समाजवादी फोरम ३, राप्रपा १ र स्वतन्त्र १ गरी जम्मा ९३ जना रहेका छन् ।

तर, प्रदेश १ मा प्रदेश सांसद र स्थानीय प्रमुख उप्रप्रमुखसहित सवै गरेर राष्ट्रियसभाका मतदता ३६७ जना हुनेछन ।

प्रदेश २ मा संसफोका सांसद बढि

यो प्रदेशमा सवैभन्दा बढि २९ जना प्रदेश सांसद राजपाका छन् ।

दोस्रोमा राजपा २५ तेस्रोमा एमाले २१ र चौथोमा काँग्रेस १९ जना सांसद छन् । त्यसैगरी माओवादी ११ नेसस १ र स्वतन्त्र १ गरी १०७ सांसद रहेका छन् ।

उता यो प्रदेशमा स्थानीय निकायका प्रमुख र उपप्रमुख २७२ जना छन् सवै गर्दा यो प्रदेशमा राष्ट्रियसभाका ३७९ मतदता हुने भएका छन् ।

३ मा एमाले अगाडि

प्रदेश नं ३ मा एमालेका सवैभन्दा बढि प्रदेश सांसद निर्वाचित भएका छन् ।

यहाँ एमालेका ५८ सांसद छन् भने दोस्रोमा माओवादी २३ र तेस्रोमा कांग्रेस २१ जना छन् । यहाँ विवेकशील ३, नेमकिपा २, राप्रपा, राप्रपा प्रजातान्त्रिक र नयाँ शक्तिका एकएक सांसद गर्दा ११० सांसद छन् ।

यो प्रदेश सवैभन्दा बढि सासद भएको प्रदेश पनि हो ।

यो प्रदेशमा स्वतन्त्र सांसद भने छैनन । यो प्रदेशमा प्रदेश सांसद अलवा स्थानीय निकायका प्रमुख तथा उपप्रमुख २३८ जना छन् यो सवै जोड्दा यो प्रदेशका राष्ट्रियसभा सदस्यका मतदता ३४८ भएका छन् ।

४ नम्बर प्रदेशमा २३० मतदाता

चार नम्बर प्रदेशमा पनि एमालेका सांसद नै बढि छन् । यो प्रदेशमा एमालेका २७, काँग्रेसका १५, माओवादी १२ छन् भने राजमोका ३ सांसद छन् ।

त्यस्तै नयाँ शक्ति २ र स्वतन्त्र १ गरी यो प्रदेशमा ६० प्रदेशसभा सांसद छन् । चार नम्बर प्रदेशमा स्थानीय निकायका प्रमुख र उपप्रमुख १७० जोड्दा राष्ट्रियसभाका लागि २३० मतदता भएका छन् ।

तर, यो प्रदेशमा स्वतन्त्र सांसद दिपक मनाङगेले शपथ लिएका छैनन ।

५ नम्बर प्रदेशमा ३०५

५ नम्बर प्रदेशमा पनि एमाले नै सांसद नै बढि छन् । यहाँ एमालेका ४१ सांसद छन् भने दोस्रोमा माओवादी २० र तेस्रोमा काँग्रेसका १९ छन् । त्यस्तै संघीय समाजवादी फोरम ५ राजपा र राजमो एकएक सांसद छन् ।

यो जोड्दा ८७ सांसद हुन्छन् । उता, स्थानीय तहमा यो प्रदेशमा २१८ मतदाता छन् प्रदेश सांसद र स्थानीय प्रमुख र उपप्रमुख जोड्दा ३०५ जना मतदता हुनेछन् ।

६ नम्बर प्रदेशमा १९८ मात्रै

६ नम्बर प्रदेशमा एमाले २०, माओवादी १३, कांग्रेस ६ र राप्रपा १ प्रदेश सांसद छन् । यो प्रदेशमा ४० प्रदेश सांसद छन् भने स्थानीय तहका प्रमुख र उपप्रमुख १५८ जोड्दा १९८ राष्ट्रियसभाका लागि मतदाता भएका छन् ।

७ मा २२९ मतदता

सात नम्बर प्रदेशमा ५३ जना सांसद छन् जसमध्ये एमालेका २५ माओवादीका १४, काँग्रेसका १२ राजपा २ जना प्रदेश सांसद छन् ।

यो प्रदेशमा स्थानीय तहका प्रमुख उपप्रमुख १७६ गर्दा २२९ मतदता पुगेका छन् ।

जम्मा २०५६ मतदता

सवै प्रदेशका प्रदेश सांसद र स्थानीय जनप्रतिनिधि प्रमुख उपप्रमुख गरी राष्ट्रियसभाका २०५६ मतदता हुनेछन् ।

यी मतदताले ५६ जना सांसद निर्वाचित गर्नेछन् ।