यस्तो छ प्रदेश–१ को मुख्यमन्त्रीको कार्यालय

विराटनगर (पास)– प्रदेश नम्बर–१ को अस्थायी राजधानी विराटनगरमा मुख्यमन्त्री र अरु मन्त्रालयका लागि ८ ओटा कार्यालयलाई प्रयोग गर्न लागिएको छ।

विराटनगरस्थित क्षेत्रीय पशु निर्देशनालयमा प्रदेशप्रमुखको कार्यालय र निवास राखिएको छ भने क्षेत्रीय कृषि निर्देशनालय भवनलाई मुख्यमन्त्रीको कार्यालय र निवास बनाइने भएको छ ।

प्रदेशसभा जिल्ला समन्वय समितिको कार्यालयमा रहनेछ । क्षेत्रीय सिँचाइ निर्देशनालयमा मुख्यसचिवको कार्यालय र निवास राखिने भएको छ ।

विषयगत मन्त्रालय राख्न उद्योग विकास शाखा, क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालयका भवनलाई प्रयोग गरिनेछ ।

त्यस्तै, जल उत्पन्न तथा प्रकोप नियन्त्रण कार्यालय, क्षेत्रीय वन, क्षेत्रीय सहरी विकास आयोजना पनि मन्त्रालयकोरुपमा प्रयोग गरिने भएको छ ।

बाली संरक्षण कार्यालय, क्षेत्रीय पशु अन्वेषण कार्यालय तथा प्रयोगशालामा पनि मन्त्रालय राख्ने तयारी भइरहेको छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ओमकुमार बस्नेतले प्रदेश सरकार सन्चालनका लागि प्रशासकीय एवं मन्त्रालय राख्नका लागि आवश्यक कार्यालयहरुको छनोट गरिएको जानकारी दिए ।

सहरी विकास मन्त्रालयको टोलीले विराटनगरका १२ ओटा सरकारी कार्यालयका भवन प्रदेश सरकार सन्चालनका लागि छनोट गरेको थियो ।

टोलीले ती कार्यालयहरुको मर्मतका लागि २१ करोड रुपैयाँ लाग्ने अनुमान गरेकोमा साढे ७ करोडमात्र निकासा भएको सहरी विकास डिभिजन कार्यालय विराटनगरका डिभिजन प्रमुख श्यामकिशोर सिंहले जानकारी दिए ।