पार्टी एकताको सन्दर्भमा ओली र प्रचण्डबीच पाँच घण्टा गोप्य छलफल

काठमाडौं (पास)– ललितपुरमा आज एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी एकताको सन्दर्भमा पाँच घण्टा गोप्य छलफल भएको छ ।

पार्टी एकतालाई शीघ्र निष्कर्षमा पु¥याउने विषयमा अध्यक्ष ओली र अध्यक्ष दाहालबीच सो विषयमा शुक्रबार र शनिबारसमेत एक्लाएक्लै छलफल भएको जनाइएको छ ।

बैठकबारे जानकारी दिँदै अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले राष्ट्रियसभा निर्वाचनलाई सफल बनाउने विषयमा छलफल केन्द्रित रहेको उल्लेख गरे । नयाँ सरकार गठन, पार्टी एकताबारे छलफल भए पनि आजै निष्कर्षमा नपुगिएको बताइएको छ । छलफल जारी राख्दै शीघ्रातिशीघ्र पार्टी एकतालाई तार्किक निष्कर्षमा पु¥याउन अध्यक्षद्वय सहमत भएको बताइएको छ ।

पार्टी एकता, प्रदेशका मुख्यमन्त्रीका विषयमा छलफल भए पनि कार्यदलले टुङ्ग्याएर ल्याउने प्रस्तावलाई अनुमोदन गर्ने सहमति पनि उनीहरूबीच भएको छ ।

पार्टी एकताका सन्दर्भमा बाँकी रहेको विषयमा छलफल चलाउँदै एकतालाई निष्कर्षमा पुग्न थप गृहकार्य गर्ने विषयमा नै छलफल केन्द्रित रहेको प्रेस संयोजक तिमिल्सिनाको भनाइ छ । पार्टी एकताका विषयमा सांगठनिक र वैचारिक विषयमा रहेका केही मतभेदमा सामान धारणा बनाउने क्रम जारी रहेको बताइएको छ ।

राष्ट्रियसभा निर्वाचनको मिति नजिकिएकाले सबैभन्दा पहिले त्यसलाई सफल बनाउने र प्रदेशका मुख्यमन्त्रीको विषयमा संयुक्त कार्यदलले तयार पार्ने प्रतिवेदनका आधारमा निर्णय गर्न समेत दुई पार्टीका अध्यक्ष तयार भएका छन् ।

राष्ट्रियसभामा वामपन्थीका उम्मेद्वारलाई जिताउन प्रयास गर्ने र त्यसका लागि सबै तह र तप्कालाई संयुक्त निर्देशन दिने, स्थानीय तह र प्रदेशसभाका सदस्यलाई प्रभावकारी रुपमा निर्वाचनमा सहभागी भएर वामगठबन्धनका उम्मेदवारको पक्षमा मत दिने वातावरण बनाउन दुवै पार्टीका अध्यक्ष सहमत भएका हुन् ।

वाम गठबन्धनले जितेका छ प्रदेशमध्ये चार प्रदेशमा एमाले र दुई प्रदेशमा माओवादी केन्द्रले मुख्यमन्त्री लिने सहमति करिबकरिब भइसकेको छ । तर नेताहरूले औपचारिक रुपमा भने सो बारेमा केही बताएका छै्रनन् ।

एमालेले मुख्यमन्त्री लिएका स्थानमा माओवादी केन्द्रले सभामुख र माओवादीले मुख्यमन्त्री लिएको स्थानमा एमालेले सभामुख लिने विषयमा समेत लगभग सहमति जुटिसकेको छ ।

दुई दलीय कार्यदलले सो विषयलाई अन्तिम रुप दिनेछ । कार्यदलले पारित गरेको प्रस्तावलाई पार्टी एकता संयोजन समितिले अनुमोदन गर्नेछ । विभिन्न प्रदेशमा प्रदेशसभाको बैठक बोलाइसकिएकाले पनि तत्कालै मुख्यमन्त्री र सभामुखको विषयमा निर्णय गर्नुपर्ने देखिएको छ । प्रदेश नं २ बाहेक अरु ६ वटा प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने जनमत प्राप्त छ ।