एकता भाँड्न खोज्नेको जोर नचल्ने

काठमाडौं– ललितपुरको मानभवनस्थित एक व्यवसायीको निवासमा चार घण्टा लामो छलफल गरी पार्टी एकीकरणको अन्तिम कसरतमा जुटेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले एकअर्काप्रति रहेको आशंका मेटाएका छन् ।

स्रोतका अनुसार ओली र दाहालले आइतबारको वार्तामा झन्डै दुई घण्टा एकअर्काप्रति रहेको आशंकामा केन्द्रित गरी छलफल गरेका थिए । यसको सुरुआत ०५८ साल भदौमा सिलगुढीमा भएको वार्ता प्रसंग कोट्टयाउँदै ओलीले गरेका थिए । स्रोतका अनुसार ओलीले सिलगुढी वार्तापछि काठमाडौं आएर १९ भदौमा एक सार्वजनिक कार्यक्रमबाट आफूले माओवादी आन्दोलनको शान्तिपूर्ण अवतरणका लागि पाँच बुँदे प्रस्ताव सार्वजनिक गरेको भन्दै आफू सधैँ वाम एकतामा लाग्ने तर आरोप विरोधीको रूपमा लगाइने गरेको तथ्य राखेका थिए । दाहाललाई विगत स्मरण गराउँदै ओलीले २३ भदौ ०५८ मा एक दैनिक पत्रिकामा आफूले लेख नै प्रकाशन गरेको भन्दै अहिले पनि एकताका लागि अघि बढ्दा भाँड्नका लागि विभिन्न अफवाह फैलाइएकोले केही आशंका भए खुलेर राख्न दाहाललाई सुझाएका थिए ।

‘तपाईं र ममा आआफ्नै परस्पर विरोधीजस्ता लाग्ने स्वाभाव छन्, सोहीअनुसार निकालिने अर्थ र भाष्यका बीचमा हामी अल्झिएर बस्नु हुँदैन, हामी कसैले फैलाएको भ्रमभन्दा माथि उठनुपर्छ ? आशंका केही छन् भने हामी आफैले मेटाउनुपर्छ,’ दाहाललाई ओलीको भनाइ थियो । ओलीले ०५८ देखि अहिलेसम्मको स्मरण गराउँदै खुलस्त कुरा राखेपछि दाहाल पनि खुलेर प्रस्तुत भएका थिए । कताकता तपाईं (ओली) मै समस्या हो कि भन्नेहरू त धेरै छन्, त्यसले केही आशंका त जन्माएकै हो, तर तपाईंले जे राख्नुभयो, त्यसले मलाई आफैप्रति आशंका गरेको भान भयो,’ दाहालको भनाइ उधृत गर्दै स्रोतले भन्यो । लामो छलफलपछि दुवै नेताले एकअर्काप्रतिका आशंका र एकता विरोधी दुष्प्रचार निवारण भएको निष्कर्ष निकालेका छन् । दुवै नेताले आफ्नो स्वार्थ केन्द्रित गर्दै एकतामा आँच पु¥याउने काम दुवैतर्फबाट भइरहेको भन्दै लामो समीक्षासमेत गरेका थिए ।

‘एकता हुुुँदा मेरो स्थान के हुन्छ ? मन्त्री हुन्छु कि हुन्न, मलाई के फाइदा हुन्छ ? भन्ने पनि दुवै पार्टीमा छन्, तिनले हामीसँग नजिक रहेको भन्दै आफ्ना कुरा भनिरहेका छन्, तिनको वैधानिकता छैन,’ दुवै नेताको भनाइ उधृत गर्दै खुमलटार स्रोतले भन्यो । स्रोतका अनुसार छलफलमा एकताको आवश्यकता र अहिलेसम्म विभिन्न पक्षबाट भएका चलखेल र घटनाक्रमका बारेमा समेत समीक्षा भएको थियो । ‘ओलीले त प्रयोग मात्रै गरेका हुन्, केही पनि दिँदैनन, एकताको कुरा उनको स्टन्ड मात्रै हो, सबै छाडेर आत्मसमर्पण गर्नुपर्छ भन्ने कुरा सुनाउँथे, मलाई पनि कताकता होकि होकि भन्ने हुन्थ्यो, तर तपाईंको प्रस्तावले त ती सबै एकता विरोधीका अफवाह रहेछन् भन्ने प्रष्टै देखायो, म आपैmँमाथि आशंका गरेर पो बसेको रहेछु, अब सबै भ्रम र अफवाह हट्यो, हामीबीच अब कसैले पनि आशंका पैदा गर्न सक्दैन,’ समीक्षाका क्रममा दाहालको भनाइ थियो ।

ओलीले पनि दाहालकै जसरी अनुभूति राखेका थिए । ‘मलाई पनि प्रचण्डको विश्वास गर्दै नगर्नु भन्ने थुप्रै थिए, छन् पनि, तर कुनै वास्ता गरिनँ, कताकता यताबाट हामीबीचको सूचना चुहिएको हो कि भन्ने लागेको थियो, तर तपाईंमाथि कुनै आशंका छैन, एकतामा पनि आशंका रहेन अब । यो एकता भाँड्न पाए ठूलै उपलब्धी हुने थियो, आफ्नो स्वाथ पूरा गर्न पाइन्थ्यो भन्दै थुप्रै शक्ति हिँडेका छन्, एमाले र माओवादीभित्र पनि तिनैले भ्रम फैलाइरहेका छन्, तिनका कुरा सुनेर तपाईं ममाथि शंका गर्ने, म तपाइमाथि शंका गर्ने काम हुनुहुँदैन । मलाई पनि प्रचण्डको विश्वास नगर्नाेस्, यिनको ताल ठीक छैन, अहिले एउटा, दिउँसो अर्काे, बेलुका अर्कै कुरा गर्छन् भनेर भड्काउन खोज्नेहरू कम छैन । तर, म अडिग छु, तपाईं पनि आजबाट अडिग पाएँ,’ ओलीको भनाइ उधृत गर्दै स्रोतले भन्यो ।

लामो आत्मसमीक्षापछि ओलीले यसअघि भएको सहमतिका आधारमा एकताको अन्तिम मोडालिटीबारे आफ्नो प्रस्ताव राखेका थिए । ओलीले तीन ओटा विकल्पसहित राखेको प्रस्तावमा दाहालले सहमति जनाउँदै प्रस्तावले आफू दंग परेको टिप्पणी गरेका थिए । बैठकपछि आफू निकटसँग दाहालले यस्तो जनाउ दिएका हुन् । स्रोतका अनुसार ओलीसँगको वार्तापछि निकटसँग दाहालले एकताको प्रक्रिया एक कदम अगाडि बढेर माथिल्लो उचाइमा पुगेको बताएका छन् । ‘प्रचण्डको मनमा रहेको आशंका आजको छलफलबाट मेटिएको छ, ओलीसँग टाढा बनाएर आशंकाको खेती गर्नेको सबै प्रयास सकियो,’ खुमलटार स्रोतले भन्यो । दाहालले जनाएअनुसार ओलीले एकताको रोडम्यापका बारेमा विस्तृत रूपमा प्रचण्डलाई बताएका थिए । ओलीको रोडम्याप सही रहेको प्रचण्डको बुझाइ छ ।

सौर्य दैनिक लेख्छ– ओली दाहालबीच एक साताभित्र आन्तरिक गृहकार्य गरेर पार्टी एकता संयोजन समितिको बैठक बस्ने सहमति पनि भएको छ । स्रोतका अनुसार ओलीले माघ महिनाभित्रै पार्टी एकता गर्ने गरी तयारी अघि बढाउनुपर्ने प्रस्ताव राखेका छन । दुई नेताबीच शुक्रबार राती पनि चार घण्टा बढी छलफल भएको थियो । सो छलफलकै निरन्तरताका रूपमा आइतबार लामो कुराकानी भएको हो । छलफलबाट पार्टी एकता र सरकार गठन सँगसँगै अघि बढाउने र त्यसका लागि आवश्यकताअनुसार ‘वान–टु–वान’ र कार्यदल स्तरीय बैठक निरन्तर जारि राख्ने सहमति भएको छ । ओली र दाहालले पार्टी एकताका निम्ति सैद्धान्तिक÷वैचारिक र सांगठनिक सहमतिमा पुग्नका लागि थप गृहकार्य गर्नुपर्ने निष्कर्षसहित एक साताको समय तय गरेका हुन् । यसैगरी शक्ति र सामथ्र्यका आधारमा सांगठनिक प्रबन्ध गर्ने सहमति पनि ओली र दाहालले गरेका छन् ।

यसैगरी ओली र दाहालले एकताको विषयलाई लिएर दुवै पार्टीका तर्फबाट आइरहेको सार्वजनिक टीकाटिप्पणीले एकतामा सहयोग नभई अवरोध बनेको भन्दै थप सचेत गराउने सहमति भएको छ । ‘पार्टी एकतालाई असहयोग हुने गरी पार्टी्भित्रबाट आइरहेका सार्वजनिक टीकाटिप्पणी तत्काल रोक्न नेताहरूलाई सचेत गराउने र बाहिरबाट एकता भाँड्न भएका प्रयासहरूबाट सचेत रहने निचोड निकालिएको जानकारी हामीलाई दिनुभएको छ,’ स्रोतले भन्यो ।