यस्तो छ चलचित्र ‘पद्मावत’को कथा

मुम्बई (एजेन्सी)– सञ्जय लीला भंसालीको विषयमा जब कुरा उठ्छ तब ‘हम दिल दे चुके सनम’, ‘देवदास’, ‘गोलियों की रासलीला रामलीला’ र ‘बाजीराव मस्तानी’ जस्ता फिल्म आँखा अगाडि आउँछन् । नोभेम्बर २०१६ मा फिल्म ‘पद्मावती’ (पद्मावत) को छायांकन सुरु भएको थियो तबदेखि यो फिल्म इतिहासलाई लिएर विवादमा छ । लगातार भइरहेको विवादका बीच फिल्म २५ जनवरीबाट रिलिज भएको छ ।

फिल्मको कथा चर्चित कवि मलिक मोहम्मद जायसीको काव्य रचना ‘पद्मावत’ माथि आधारित छ । फिल्मको कथा १३ औँ शताब्दीबाट सुरु हुन्छ । पद्मावती (दीपिका पादुकोण) सिंघल राज्यकी राजकुमारी हुन्छिन् । उनको सुन्दरताको पूरा भारतमा चर्चा हुन्छ । एक दिन अचानक महारावल रतन सेन (शाहिद कपूर) को भेट पद्मावतीसँग हुन्छ । यस्तैमा यी दुई एकअर्काको प्रेम पर्छन् । यसपछि पद्मावती र रतन सेनको विवाह हुन्छ । सबैकुरा ठिकठाक हुँदै गर्दा रतन सेनको दरवारबाट निकाला भएका पुरोहित राघव चेतनको भेट दिल्लीका सुल्तान अलाउद्दीन खिलजी (रणवीर सिंह) सँग हुन्छ ।

उक्त पुरोहितले अलाउद्दीन खिलजीलाई रानी पद्मावतीको सुन्दरताको बयान गर्छ । पुरोहितको कुराबाट प्रभावित भएर अलाउद्दीन, चित्तौडमा आक्रमण गर्नका लागि निस्कन्छन् । खिलजीले झुक्याएर महारावल रतन सेनलाई बन्दी बनाउँछन् र बदलामा रानी पद्मावतीको माग गर्छन् । यसपछि फिल्ममा कयौं मोड आउँछ ।

फिल्ममा निर्देशक सञ्जय लीला भंसालीको मिहिनेत स्पष्ट देखिन्छ । उनले रानी पद्मावतीको सुन्दरतालाई आकर्षक तरिकाले देखाउन सफल भएका छन् । महारावल रतन सेनको पराक्रम र सुल्तान अलाउद्दीन खिलजीको क्रूरता देखाउन पनि निर्देशक भंसाली चुकेका छैनन् । फिल्मको हरेक फ्रेममा भंसालीको जादू देख्न सकिन्छ ।

दीपिका पादुकोण, पद्मावतीको रोलमा एकदम फिट छिन् । शाहिद कपूरले महाराजा रावल रतन सिंह र एक जिम्मेवार पतिको भूमिका राम्रोसँग निर्वाहा गरेका छन् । यस्तै, अलाउद्दीन खिलजी जस्तो क्रूर व्यक्तिको भूमिका रणवीर सिंहले अद्भुत अन्दाजमा निर्वाहा गरेका छन् । रजा मुराद, अदिति राव हैदरी, जिम सर्भ, आयाम जस्ता कलाकारहरुको अभिनय पनि दमदार छ ।

फिल्मको म्यूजिक राम्रो छ । ‘घूमर’, ‘एक दिल एक जान’ र बाँकी गीतले फिल्मको स्क्रिनप्लेमा ठूलो सहायता गरेको छ । ब्याकग्राउन्ड स्कोर र युद्धको समयको साउन्डले फिल्मलाई थप वजनदार बनाएको छ ।

बलिउड भाष्करले ३.५र५, कोइमोइले ४.५, आजतकले ४, इन्डिया एक्सप्रेसले २.५ र टाइम्स अफ इन्डियाले ४ स्टार रेटिङसहित ‘पद्मावत’ पैसा असुल फिल्म रहेको लेखेका छन् । यो फिल्म संसारभर करीब ७ हजारभन्दा बढी ‘स्कृन’ मा रिलिज भएको छ । फिल्मको कूल बजेट १८० करोड रहेको छ ।