छाला खुम्चिएर चाउरी पर्यो तर दुःख खुम्चिएर सुख परेन

हरियो पासपोर्टभरि भिसाका म्यादहरू थप्दाथप्दै

अन्तिम पानामा आइपुग्दा पनि

भुन्टेलाई सुबर्णेको जस्तो गुडीया अनि पुतलीलाई जामा,

प्यारीलाई रेशमको सारीको बाध्यता अटाएनन् ।

पासपोर्टमा भिसाको म्याद हाल्ने पानो फेरिरह्यो,

दुखले पेट पाल्न अनेक देशका बिमान फेरिरह्यो

तर बा आमाको कपडा अनि चुहिरहने घरको छानो फेरिएन ।

क्यालेन्डरमा दिन, बार बर्ष धेरै फेरिए

तर मेरा दुख फालेर खुशीको रँग फेरिएन

जिजीविषाको हिसाब मिलाउँदा मिलाउँदै

रियल र रिंगेटलाई रुपैयाँ बनाउँदा बनाउँदै

छाला सब खुम्चिएर चाउरी पर्यो तर

दुःख खुम्चिएर सुख परेन ।

ईश्वरी बुढा दाहाल विश्वासी, इलाम (देउमाई नगरपालिका)
हाल : साउदीअरब