स्कुल जाँदा काँक्रो चोरेपछि…

मलाई करिब २०३७ साल बाटै स्कुल पठाउन शुरु गर्नुभएको हो । मेरो घरका अभिभावक (हजुरबा) ले दाईहरुको साहारामा चमैताको डम्वरदेवीमा पठाउन थाल्नुभएको अलि अलि थाहा छ । हामी ३ जना (बीर बहादुर, हस्त बहादुर र म) । तर, निरन्तरता भएन र २०३८ सालबाट साबिक चमैता–१ कमलदेवी स्कुलमा पठाउन शुरु गर्नु भयो । गाउँका थुप्रै थियौँ (पुष्पा दिदी, उषा बहिनी, कमला दिदी, सन्तमाया दिदी, हस्त दाई, बीर बहादुर दाइ, डील्लि, हरी, बल ब, याम ब, सुवास (ठुलो भाई), भाई सानु अनि म) ।

सबै भेला भएर गुटुटु जान्थ्यौँ स्कुल । अचानक हामी २ जना चाहिँ दिनदिनै स्कुल पुग्ने क्रम घट्न थाल्यो । ताकी हामी बाटैमा खेलेर बस्ने अनि छुट्टी भएपछि अरुहरुहरुको अघिअघि आउँथ्यौ घर । त्यो साल हाम्रो पढाईमा दुबै भाइको फाइनल रेकर्ड जिरो भो । फेल भयौँ । किनकी हामी कुटुनी खोला नै तर्दैनथ्यौँ । त्यो खोला नपुगी गहिरिएको र घुमाउरो खोल्सी थ्यो, त्यसै ठाउँमा लुकेर वस्थ्यौँ । अलार्इँची बारीको जङ्गलमा । त्यो खोल्सी को सानो पानीमा गडेरा, गङ्गटो मार्दै दिन बिताउने काम गरिन्थ्यो । एक साल यसरी नै बिताइयो र जिरो फल्यो । यस्तो कसरी भयो भन्दै हजुर बाले खोजी गर्न थाल्नुभयो र बाटैमा खेलेर स्कुल नपुग्ने कुरा पत्ता लाग्यो । साँच्चै पनि त्यहि थियो । हजुरबाले हामी लाई फेरि कडाईका साथ पेलान मा पारेर स्कुल जाने मनस्थिती बनाउनलाई डोकामा ढुङ्गा हालेर करिब ५०० मिटरको दुरीको बाटो फर्केर आउने गरी बोकाएर पठाउन थाल्नु भो कुनै दिन । कुनै दिन बाँधेर घरमै राख्नुहुन्थ्यो स्कुल शुरु नहुँदै । फेरि स्कुल शुरु भो हामीलाई पठाउन थाल्नु भो र जान्थ्यौँ पनि तर सानो नोटबुकको साथ मा । त्यो बुक लगेर हेडसर लाई दिनुपर्ने र फर्कँदा लिएर आउनु पथ्र्यो । यसरी हामीलाइ स्कुल पुर्याउने र पढ्ने तरिका । स्कुलमा पनि साथीभाईहरु सँग आत्मियता बढ्न थाल्यो । अब भने पढाई निरन्तर हुन थाल्यो, पास पनि हुँदै गयौँ । तर, ठूलाहरुले गर्दा साह्रै छुच्चो भैयो । विपक्षी टोलीलाई ढुङ्गो हान्ने, लखेट्ने गर्न थाल्यौँ । २०४१÷०४२ तिर हुनु पर्छ, हाम्रै र आफ्नै मान्छे गुरु हुनुहुन्थ्यो । उहाँको घर कै बाटो जानु पथ्र्याे स्कुल । घर पछाडी घुमेको बाटो थियो, नजिकै पिउने पानीको धारो थियो । घरको करेसा बारीमा मेल काँक्रो अति फल्थ्यो, साह्रै चोरिन्थ्यो पनि, त्यसरी नै हिडिन्थ्यो । घरको पछाडी साह्रै फलेको थियो काँक्रो, हरियो देखि पहेँलोसम्मको थियो तर हामी हेरेरै हिँडिरहन्थ्यौँ, हेरेरै चित्त बुजाउनु पर्ने हुन्थ्यो । किनकी नजिकै बाटैमा धारो छ, त्यो धारोमा दिनै सर त्यसै समयमा नुहाउनुहुन्थ्यो,जहिले भेटिन्थ्यो । फेरि त्यो धारो वरिपरि गाउँकाले पानी भर्ने ठाउँ पनि थियो । मान्छे अटुट हुन्थे स्कुल जाने समयमा ।

एक दिन कसै गर्दा पनि हाम्रो टिम लाई नचोरी भएन । चोर्ने कसरी अब ? फेरि काक्रो वाँसको थाँक्रोको टुप्पोमा छ । चढ्नै पथ्र्याे, म अलिक छिटो चढ्नलाई र म आफँै गएर थाँक्रोमा चढे र काँक्रो घुमाउन थालेँ चुडाउनलाई, घुमाउँदा–घुमाउँदै सरको आमाले देख्नुभो र कराउँदै आउनुभो धन्न काँक्रो भुईँमा झर्यो । साथीहरुले उठाएर भागी गए । म पनि सुलुलु झरेर भागे । भेट्नुभएन अजि (हजुरआमा)ले पनि । फेरि बाटैमा सर धारोमा नुहाउँदै हुँनुहँुदो रहेछ तर हामी फाले हानेर डाँडो काटेर ओरालो झर्यौँ खोल्सी पुग्यौँ । कुटुनी खोला तर्यौँ र फेरि उकालो लाग्यौँ । स्कुलको नजिकै झाडीमा काँक्रो लुकाएर स्कुल पुग्नासाथ हामीले धारोमा भेटेको सर पनि आइपुग्नु भो । सरको नाताले हामी भान्जा नातीहरु हौँ, केहि गर्नुभएन । टीफिन टाइममा हामी काँक्रो चोर मिलेर फेरी काँक्रो भएको ठाउँ पुगेर भाग बन्डा गरेर खाइयो । त्यहाँ बाट त्यो घरको बाटो आउँदा जाँदै दगुरेर त्यो आँगन काट्ने बानी वस्यो । अजिले गाली गर्नुहुन्छ भनेर । 

मन बहादुर श्रेष्ठ ईलाम (देउमाई नगरपालिका) हालः जोर्डन