निर्माता संघद्वारा आचार संहिता खारेजको माग

काठमाडौं (पास)– चलचित्र विकास बोर्डले दुई वर्षअघि फिल्म निर्माणलाई नियन्त्रण गर्ने भन्दै निर्माण तथा निर्देशनमा बनाएको मापदण्डहरू खारेज गर्न चलचित्र निर्माता संघले माग गरेको छ ।

संघले बोर्डकी अध्यक्ष निकिता पौडेललाई ज्ञापन पत्र बुझाउँदै आचार संहिता खारेजीको माग गरेको हो ।

उक्त मापदण्डमा चलचित्र निर्देशन गर्न चाहानेले मान्यताप्राप्त शिक्षण संस्थाबाट फिल्म निर्देशन पढेको हुनु पर्ने वा नेपाली फिल्ममा विभिन्न भँमिकामा १० वर्ष काम गरेको हुनुपर्ने प्रावधान छ । त्यसैगरी, निर्माताको हकमा पनि नयाँ निर्माताले अनुभव लिएपछि मात्र फिल्म निर्माण गर्न पाइने व्यवस्था छ । निर्माता संघका अध्यक्ष आकाश अधिकारीले मामदण्डले थुप्रै कानुनी तथा व्यवहारिक जटिलताहरू उब्जाएकाले यसको खारेजीको माग गरेको बताए ।

संघले बुधबार अध्यक्षलाई बुझाएको ज्ञापनपत्रमा बक्स अफिस, चलचित्र नीति, सेन्सर समस्या र राम्रा विषयवस्तुमा बन्न लागेका चलचित्रलाई अनुवृत्ति (सब्सिडिज) लगायतका विषय पनि समेटिएका छन् । संघले बोर्डलाई विदेशी नियोगहरूमा नेपाली चलचित्र फेस्टिभल गरी नेपाली फिल्मको प्रवद्र्धन गर्न पनि आग्रह गरेको थियो ।