क्यूबाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोका छोराद्वारा आत्महत्या

काठमाडौं– क्यूबाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोका ६८ वर्षीय छोरा क्यास्ट्रो डियाज बलार्टले हवानामा आफ्नै ज्यान लिएको क्युबाको स्थानीय संचार माध्यमले जानकारी दिएको छ । लामो समयदेखि डिप्रेसनको शिकार बनेका डियाज बलार्टको बिहीबार बिहान शव फेला परेको बीबीसीले जनाएको छ ।

‘फिडेलिटो’ को नामले चर्चित डियाज पूर्व राष्ट्रपतिका जेठा छोरा हुन् । उनले आफ्नो पढाइ सोभियत युनियनमा पूरा गरेका थिए र एक रुसी महिलासँग उनको विवाह भएको बताइन्छ । यसअघि २००८ सम्म उनले क्युबाका आणविक कार्यक्रमको नेतृत्व गरेका थिए । तर २००८ मा पूर्वराष्ट्रपति फिडेलको सरकार अन्त्य भएपछि भने उनले राष्ट्रिय परिषदमा वैज्ञानिक सल्लाहकारको काम गर्न थालेका थिए ।

पछिल्लो केही महिनामा भने उनी गम्भीर मानसिक तनावले ग्रस्त भएका कारण उपचारका क्रममा रहेको क्युबाको आधिकारिक पत्रिकाले उल्लेख गरेको बीबीसीले जनाएको छ ।

स्थानीय टेलिभिजनले खबर गरेअनुसार उपचारकै लागि उनी लगातार अस्पताल गइरहन्थे ।

उनको व्यवसायिक प्रोफाइलमा उल्लेख गरिएअनुसार उनले आफ्ना किताबहरुमार्फत देशलाई थुप्रैपटक अन्तर्राष्ट्रिय समारोहमा प्रतिनिधित्व गराइसकेका छन् । मृत्युअघि २०१५ मा उनी एक भव्य पार्टीमा पेरिस हिल्टनका साथ देखा परेको बताइएको छ ।