शेरधन राई प्रदेश १ को मुख्यमन्त्री बन्ने पक्का, यस्तो छ राईको संक्षिप्त जीवनी

पाथिभरा संवाददाता, विराटनगर– आज सम्पन्न नेकपा एमाले प्रदेश नम्बर–१ को संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएसँगै उनी प्रदेश १ को मुख्यमन्त्री बन्ने पक्का भएको छ ।

बाम गठबन्धनपश्चातको भागबण्डामा प्रदेश १ को मुख्यमन्त्री र सभामुख एमालेकै भागमा छ र माओवादीको भागमा भने उपसभामुख रहेको छ । ९३ सदस्यीय प्रदेशसभामा एमालेको ५१ सांसद छन् । मुख्यमन्त्री निर्वाचनमा यो बहुमत संख्या हो । संसदीय दलकै नेता मुख्यमन्त्री हुने एमालेको विधानमा उल्लेख छ । यसकारण राई मुख्यमन्त्री पक्का बन्ने भएका हुन् ।

आज (शुक्रबार) विराटनगरस्थित संसदीय दलको कार्यालयमा भएको मतदानमा दुई नेता भीम आचार्य र शेरधन राईबीच भएको प्रतिस्पर्धामा राईले कुल ५१ मा २६ मत प्राप्त गरेर विजयी भएका हुन् । आचार्यले २४ मत प्राप्त गरे । मतदानमा एक मत भने बदर भएको छ ।

राईको प्रस्तावकमा झापाका हिक्मत कार्की र समर्थकमा सुनसरीका जगदीश कुशियत रहेका थिए भने आचार्यको प्रस्तावकमा पाँचथरका गणेश काङवाङ र समर्थकमा संखुवासभाका तुलसी न्यौपाने रहेका थिए ।

राई एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधर र आचार्य वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर मानिन्छन् ।

दलको नेतामा निर्वाचित बनेपछि राईले भने, ‘अब छिट्टै प्रदेश सरकार गठन प्रक्रिया सुरु हुने छ । अब मुख्यमन्त्री नियुक्त हुने पक्कापक्की भइसक्यो । अब छिट्टै प्रदेश सरकार गठन प्रक्रिया प्रारम्भ हुन्छ । ढिलोमा फागुन २ भित्र बन्छ ।’

को हुन् शेरधान राई ?

–नामः शेरधन राई ।

–जन्मः २०२७ फागुन ११ गते ।

–ठेगानाः आमचोक गाउँपालिका–३ (साविकको थिदिंखा–५, पसलभन्ज्याङ्ग) भोजपुर ।

–पिताः जागीरमान राई ।

–माताः राम्रीमाया राई ।

–शिक्षाः एमए (समाजशास्त्र) ।

–राजनीतिक यात्राः २०४४ सालमा अनेरास्ववियुमा संगठित सदस्य, २०४९ र २०५० सालमा अनेरास्ववियु भोजपुर जिल्ला अध्यक्ष, २०५० र २०५३ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य र पूर्वाञ्चल प्रमुख, २०४७ सालमा एमालेको संगठित सदस्यता प्राप्त, २०४९ नेकपा एमाले भोजपुरको जिल्ला कमिटी सदस्य, २०५१ मा दोस्रो जिल्ला अधिवेशनबाट सचिवालय सदस्य, २०५४ मा जिल्ला कमिटीको उपसचिव, २०५४ मा पार्टी विभाजन भएपश्चात सचिव, चार कार्यकालसम्म एमालेको जिल्ला अध्यक्ष (२०५४–२०७०), २०७० वैशाख २७ गते एमाले बैकल्पिक केन्द्रीय सदस्यमा मनोनित, २०७१ मा एमाले केन्द्रीय सदस्यमा निर्वाचित, हाल बैकल्पिक पोलिटब्यूरो सदस्य एवं प्रदेश नं १ सह–इन्चार्ज ।

–संसदीय यात्राः ०५६ सालको आमनिर्वाचनमा भोजपुर क्षेत्र नं २ वाट १८४४७ मत प्राप्त गरी विजयी (कान्छो सांसद्), २०६२÷०६३ सालको ऐतिहासिक जनआन्दोलनवाट पुर्नस्थापित प्रतिनिधिसभा व्यवस्थापिका संसदको सदस्य, २०६४ सालको संविधान सभाको निर्वाचनमा भोजपुर क्षेत्र नं २ मा माओवादीका सुदन किरातीसँग पराजित, २०७० मंसिर ४ मा सम्पन्न दोश्रो संविधान सभाको निर्वाचनमा भोजपुर क्षेत्र नं २ वाट ११९२७ मत प्राप्त गरी माओवादीका सुदन किरातीलाई परिाजित गर्दै विजयी, २०७१ सालमा संसदको सुशासन तथा अनुगमन समितिको सभापति, २०७२ कात्तिक १९ गते सूचना तथा सञ्चार प्रविधि मन्त्री एवं सरकारको प्रवक्ता, २०७४ साल मंसिर १० मा सम्पन्न प्रदेशसभा निर्वाचनमा प्रदेशसभा भोजपुर २ बाट २०३३४ मत प्राप्त गरी निर्वाचित (कुल सदर मतको ७१.२३ प्रतिशत मत प्राप्त), २०७४ माघ २५ गते नेकपा एमाले प्रदेश १ को संसदीय दलको नेतामा निर्वाचित ।

–विदेश भ्रमणः चीन, रुस, दक्षिण अफ्रिका, इजरायल, श्रीलंका, थाइल्याण्ड, सिंगापुर, स्वीट्जरल्याण्ड, जर्मनी, फ्रान्स, वेलायत, मलेसिया, हङ्गकङ्ग आदि ।