प्रधानसेनापति खुला म्याराथनमा कृष्ण बस्नेत पहिलो

काठमाडौं (पास)– प्रधानसेनापति खुला म्याराथन प्रतियोगितामा नेपाली सेनाको शेरगणका हवल्दार कृष्ण बस्नेत प्रथम भएका छन् ।

बस्नेतले दुई घण्टा २२.५२ सेकेन्डमा निर्धारित ४२.१९५ किमी दुरी पूरा गरी पहिलो भएका हुन् ।
प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिकमञ्च टुँडिखेलमा शनिबार आयोजित समापन समारोहमा बस्नेतलाई पल्सर मोटरसाइकल, एक लाख नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरे ।

उक्त प्रतियोगितामा सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्की द्वितीय तथा नेपाली सेनाको रणसिंह गणका अमल्दार राजन खत्री तृतीय भए । पार्कीले उक्त दुरी दुई घण्टा २५ मिनेट २७ सेकेण्ड तथा खत्रीले दुई घण्टा २९ मिनेट १२ सेकेण्डमा पुरा गरे । उनीहरूलाई क्रमशः ५० र २५ हजार नगद र प्रमाणपत्र प्रदान गरियो ।

उक्त दौड टुँडिखेलबाट शुरु भई भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर, माइतीघर, तीनकुने, कोटेश्वर, जगाती, कमलविनायक, ब्यासी, सानोथिमी, पेप्सीकोला, जडीबुटी, एयरपोर्ट, गौशाला, चाबहिल, महाराजगञ्ज, लाजिम्पाट, जयनेपाल चित्र घर, राजदरबार हुँदै टुँडिखेलमा पुगेर समापन भएको थियो ।

हाफ म्याराथनमा विश्वरुपा प्रथम

प्रधानसेनापति महिला खुला हाफ म्याराथन प्रतियोगितामा नेपाली सेनाको जगदल गणका प्यूठ विश्वरुपा बुढाले निर्धारित २१ किलोमिटर दूरी एक घण्टा १९ मिनेटमा पूरा गरी स्कुटर, नगद एक लाख, शिल्ड र प्रमाणपत्र प्राप्त गरिन् ।

उक्त प्रतियोगितामा नेपाली सेनाकै राजदल गणका प्यूठ रेशु बस्नेत र सशस्त्र प्रहरी बलका बिन्द्रा धनके श्रेष्ठले क्रमशः दोस्रो र तेस्रो स्थान प्राप्त गर्न सफल भए । पुरुषतर्फको हाफ म्याराथनमा नेपाली सेनाको शेर गणका गजेन्द्रराज राईले एक घण्टा १० मिनेटमा निर्धारित २१ किमी दूरी पार गरी प्रथम स्थान हासिल गरे । समापन समारोहमा उहा“लाई ५० हजार नगद, शिल्ड र प्रमाण प्रदान गरियो ।
उक्त प्रतियोगितामा नेपाली सेनाको रणसिंह दलका सिपाही रामजी बस्नेत र सिंहनाथ गणका हुँदा कल्याण बानियाँ क्रमश ः दोस्रो र तेस्रो घोषित भई नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका छन् ।

सो अवसरमा १० किमी र पाँच किमीको महिला तथा पुरुष दौड प्रतियोगिता पनि आयोजना गरिएको थियो । ती दुवैै प्रतियोगितामा विदेशी धावक समेत सहभागी भएका थिए ।

नेपाली सेनाले शनिबार नै पाँच किमी दूरीको वाकाथनसमेत आयोजना गरेको थियो । सैनिक मञ्चबाट शुरु भएका ती विभिन्न प्रतियोगिता सोही स्थानमा आएर समापन भएको थियो । यसअघि शनिबारै बिहान प्रधानसेनापति राजेन्द्र क्षत्रीले तोप पड्काएर उक्त प्रतियोगिताको शुभारम्भ गरेका थिए ।