भित्रिएको १ घण्टामै बेहुलीले छोरा जन्माएपछि…

सिरहा– विवाह गरेर ल्याएकी नव दुलहीसँग तपार्इं के अपेक्षा गर्नुहुन्छ ? सबैका अपेक्षा फरक हुन सक्छन् । तर, कहिलेकाहीँ तपार्इंको अपेक्षाभन्दा नितान्त फरक अवस्था सिर्जना हुन्छ । जुन कुरा तपार्इंले कल्पना पनि गर्नुभएको हुन्न । सिरहाको दक्षिण गाउँमा शुक्रबार एउटा यस्तै अनपेक्षित घटना घटेको छ ।

जिल्लाको दक्षिणवर्ती सुखीपुर नगरपालिका–४ पोखरियाका उमेशकुमार राम ९मोची० को विवाह शुक्रबारका लागि तय भएको थियो । आफ्नो क्षमताअनुसार उनले विवाहको भव्य तयारी गरे । आपूmले सोचेजस्तै बेहुली भेट्टाएर मख्ख परेका मोचीलाई विवाह उतार्न भ्याइनभ्याई थियो । ठाँटिएर बेहुलो बनेका २१ वर्षीय मोची सबै आफन्त, पाहुना, निम्तालु र जन्ती लिएर शुक्रबार बिहान छिमेकी गाउँमा रहेको बेहुलीको घर पुगे । विवाह सम्पन्न भयो । बेहुली लिएर शुक्रबार साँझ ६ बजेतिर जन्ती घर फर्किए । तामझामका साथ बेहुली भित्र्याइयो । मुखहेर्ने र बेहुली हेर्नेहरूको ठूलै भिड थियो भने टीका लगाइदिने र शुभकामना दिनेको पनि ठूलै जमघट थियो । जातीय परम्पराअनुसार बेहुली भित्र्याउने काम भयो ।

त्यसको लगत्तै बेहुली १९ वर्षीया शोभाकुमारी रामले आपूmलाई पेट दुःखेको बताइन् । घरमा जम्मा भएका आफन्तहरूले जानेको औषधिमुलो गरे । छिमेकी महिलाहरू केही टीकाटिप्पणी गर्न थाले । बेहुलीको पेट दुःखाइ बढ्दै गयो । लगभग आधा घण्टाको पेट दुःखाइपछि बेहुलीले छोरा जन्माइन् । बेहुलीले घर भित्रिएको एक घण्टा पनि बित्न नपाई बच्चा जन्माएपछि सबै निम्तालु र आफन्तहरू छक्क परे । उनीहरू त छक्क मात्र परे, सबैभन्दा ठूलो समस्या त बेहुलालाई भयो अब के गर्ने ?

आफन्त र छिमेकीको सुझावअनुसार बेहुलीलाई तत्कालै माइती फर्काउने कुरा भयो । बेहुलीलाई माइती पठाइयो । माइतीपक्ष झन् अन्योलमा परे । छोरीको विवाहमा आएका केही पाहुनापाछा बिदा भइसकेका थिए भने केही बाँकी नै थिए । अन्माएर पठाएको पाँच घण्टा पनि नबित्दै नवजात शिशुसहित छोरी फिर्ता आएपछि आमाबाबुलाई झनै ठूलो समस्या प¥यो ।

बरियापट्टि गाउँपालिका शिवनगरका रामबली राम र उनको परिवार संकटमा परे । विवाहका लागि दुवै पक्षका आफन्तबीच विवाह र लेनदेनका विषयमा पटकपटक छलफल पनि भएको थियो । केटा र केटीबीच पनि भेटघाट र कुराकानी भएपछि २५ माघलाई सामाजिक परम्पराअनुसार उनीहरूको विवाह तय भएको थियो । भारतको दिल्लीमा काम गर्दै आएका उमेश विवाहका लागि चार महिनाअघि घर फर्किएका थिए । गर्भ कसको हो भन्ने विषयमा शोभाकुमारीले केही बताएकी छैनन् । तर, छिमेकी युवा शैलेन्द्र रामसँग शोभाको सम्बन्ध रहेको हुनसक्ने नजिकका आफन्त र छिमेकीले आशंका गरेका छन् । शैलेन्द्र विगत चार महिनाअघि रोजगारीका लागि कतार गएका छन् । घटनाका विषयमा दुवै पक्षबाट उजुरी नपरेको इलाका प्रहरी कार्यालय बरियापट्टीले जनाएको छ । सौर्य समाचार