प्रदेश नं. ३ को मुख्यमन्त्री भएपछि डोरमणिद्वारा मदनआश्रितको शालिकमा माल्यार्पण

चितवन (पास)– प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मंगलबार मदन आश्रितको शालिकमा माल्यार्पण गरेका छन् ।

मुख्यमन्त्रीको शपथ खाएलगत्तै शहीद स्मारक हेटौँडामा शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेर काम शुरु गरेका पौडेलले नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको जिप दुर्घटनास्थल नारायणगढ–मुग्लिन सडकखण्डको दासढुंगामा पुगी उनीहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरे ।

सो अवसरमा उनले मदन भण्डारी आफ्नो आस्थाको केन्द्र भएको बताउँदैै नेपाली जनताको ढुकढुकीमा बसेको मान्छे उनी श्रद्धेय हुनुहुन्छ भने ।

नेकपा एमालेका नेतासमेत रहेका पौडेलले भने, ‘उहाँकै प्रेरणाबाट हामी यो ठाउँमा पुगेका छौँ, उहाँकै सिद्धान्तलाई टेकेर यहाँसम्म आइपुगेका हौँ, त्यसैले उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नु मेरो सबैभन्दा पहिलो कर्तव्य ठानेर यहाँ आएको हुँ ।’

प्रदेश राजधानी हेटौँडामै हुन्छ

फरक प्रसंगमा उनले प्रदेशको स्थायी राजधानी पनि हेटौँडामा नै हुने बताए । उनले भने, ‘स्थायी राजधानी हेटौँडा शत्प्रतिशत हुने मैले देखेको छु ।’ राजधानी बनाउने आफ्नै प्रक्रिया रहेको भन्दै उनले सबैको मन जितेर हेटौँडा बन्ने बताए ।

मुख्यमन्त्री पौडेलले बढीमा १० दिनभित्रमा मन्त्रिमण्डलले पूर्णता पाउने बताउँदै प्रदेश नं ३ मा ११ वटासम्म मन्त्रालय बनाउन सकिने जानकारी दिए ।

छिमेकी जिल्लामा पनि केही मन्त्रालय राख्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताउँदै उनले भने, ‘प्रदेशको नीति, नियम, कानून, विधिविधान के छ, शुरुदेखि नै केही मन्त्रालय चितवनमा राख्नुपर्छ भन्ने मेरो मान्यता छ ।’