छ महिनापछि क्याम्पसको तालाबन्दी खुल्यो

लहान– करिब छ महिनादेखि सदरमुकाम सिरहास्थित सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पसमा लगाइएको तालाबन्दी आज खुलेको छ ।क्याम्पसमा तालाबन्दी गरेको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) र क्याम्पस प्रशासनबीच हिजो भएको वार्तामा सहमति भएपछि आजबाट तालाबन्दी खोलिएको हो ।

क्याम्पस प्रशासनसँग सात बुँदे सहमति भएपछि गत असोज पहिलो सातादेखि लगाइएको तालाबन्दी खोलिएको अनेरास्ववियु सिरहाका अध्यक्ष सुदन कुसियैतले जानकारी दिए। गैरकानूनी नियुक्तिमा रोक लगाउनुपर्ने, आर्थिक पारदर्शीता गर्नुपर्ने, शुल्क वृद्धि रोक्नुपर्ने, क्याम्पसमा शैक्षिक सुधारलगायतका आफूहरुका माग फागुनभित्र पूरा गर्ने गरी सहमति भएको अध्यक्ष कुसियैतले बताए ।

क्याम्पस प्रशासनले लिएको समयभित्र माग पूरा गर्ने प्रक्रिया अघि नबढाइए कडा आन्दोलन गर्ने अध्यक्ष कुसियैतले बताए।क्याम्पसमा देखा परेका सबैखाले समस्याको निकास दिन आफू सक्रिय भएर लाग्ने निमित्त क्याम्पस प्रमुख कृष्णकुमार यादवले बताए। छ महिनादेखिको तालाबन्दीका कारण सिरहा क्याम्पसको पठनपाठन प्रभावित हुँदै आएको थियो