गुल्मीमा नक्कली नोट भेटियो

गुल्मी– गुल्मीमा रु ५०० को नक्कली नोट भित्रिएको छ ।हिजो सदरमुकाम तम्घासस्थित ग्लोबल आइएमइ बैंकले नोटको सर्टिङ गर्ने क्रममा उक्त नक्कली नोट फेला पारेको हो । स्थानीय भगवान सप्लायर्सका युवराज पाण्डेले बैंकमा जम्मा गर्न ल्याएको रकममा उक्त एक थान रु ५०० को नक्कली नोट फेला परेको बैंकका प्रबन्धक योगेन्द्र रायमाझीले बताए । फेला परेको ९४६७९६ नम्बरको उक्त नोटमा सुरक्षा तारमा उपभोक्तालाई झुक्याउन सजिलो बनाउनका लागि तारलाई बीचबीचमा काटेर नोटमा टाँसिएको छ ।

उक्त नोटमा टाँसिएको तारलाई सहजैरुपमा कोट्याएर निकाल्न सकिन्छ । बैंकका कर्मचारीले अन्तिम समयमा नोट सर्टिङ गर्ने क्रममा उक्त नोट अलि मोटो भएकोे महसुस गरेपछि अनुसन्धानको क्रममा सो नोट नक्कली पाइएको बताइएको छ ।उक्त बैंकमा पहिलोपटक यस्तो नक्कली नोट भेटिएको बैंकका प्रबन्धक रायमाझीले बताए। कर्मचारीको सावधानीका कारण नक्कली नोट पत्ता लगाउन सफल भएको उनले जानकारी दिए । बैंकमा जम्मा गर्न पठाएको रकममा फेला परेको उक्त नोट कारोबारको क्रममा आफूले बजारका स्थानीयबाट प्राप्त गरेको र यसबारे आफूलाई कुनै पनि जानकारी नभएको बैंकमा नोट जम्मा गर्न आएका पाण्डेले बताए।

जिल्लामा पछिल्लो समयमा भित्रिएका यस्ता प्रकारका नक्कली नोट सहजैरुपमा बैंकमा पनि भित्रिसकेको अवस्थामा व्यवसायी पनि सजग हुनुपर्ने अवस्था सिर्जना भएको गुल्मी उद्योग वाणिज्य संघका महासचिव ताराप्रसाद भुसालले बताए।