सौगात पुन: चर्चामा

काठमाडौं– पछिल्लो समय एक फिल्ममार्फत्अभिनेता सौगात मल्ल फेरि चर्चामा छाएका छन् । लुट फिल्मबाट रातारात चर्चामा छाएका उनलाई अहिले एक फिल्मले सबैलाई आश्चर्यमा पारेको हो ।जुन फिल्मको नाम हो ‘पन्चेबाजा’ । यसअघिपनि लगातार पर्दामा आइरहेका उनलाई केही फिल्मले त्यति साथ दिएको थिएन । तर, अहिले उनलाई पन्चेबाजाले एकाएक चर्चामा ल्याएको छ ।

 निर्देशक घनश्याम लामिछानेद्वारा निर्मित चलचित्रको कथाबस्तु सुहाउदो पन्चेबाजामा सौगातको ‘लाउड’ चरित्रले दर्शकलाई आकर्षित गरेपछि यतिबेला उनले राम्रो ‘रेस्पोन्स’ पाइरहेका छन् । ११ फागुनदेखि सिनेमा हलमा प्रदर्शन भइरहेको पन्चेबाजाले दर्शकको मन जित्न सफल मात्रै होइन अभिनेता मल्ल पनि उत्तिकै खुसीमा रहेका देखिन्छन् । यसअघि पनि उनको फिल्म हेर्न दर्शकहरू ठेलमठेल गरेर हलभित्र नछिरेका होइनन् तर अहिले पन्चेबाजाले सौगातलाई थप उत्साह प्रदान गरेको छ । 

कथाबस्तुअनुरूपको चरित्र मिलेको तर कथावस्तुमा चाहिँ त्यति धेरै नयाँपन नआएको पनि एक खाले दर्शकको गुनासो सुनिन्छ । तर, सौगातको प्रस्तुतीमा चाहिँ कुनै प्रश्न नभएको दर्शकहरू बताउछन् । समाजमा घट्ने  टनालाई फिल्ममा जस्ताको त्यस्तै उतारिएको छ । साथीको राम्री श्रीमतीमाथी कुदृष्टी लगाउँदा उत्पन्न हुने द्वन्द्वको वरिपरि फिल्म रुमलिएको छ । दर्शकहरू यो पनि भन्छन् कि–‘कलाकारहरू स्वतन्त्र भएकाले १ घण्टा ५७ मिनेट ‘होल्ड’ मा बस्दा फिल्म सकिएको थाहै भएन ।’ फिल्ममा पहिलो पटक पर्दामा थिएटर आर्टिस्टको भूमिका निर्वाह गरेका सौगात ९भूपी० काठमाडौंमा मञ्चन भएको एक नाटकबाट विजयी घोषित भएर आफ्नो बच्चैदेखिको साथी कर्मा ९रुद्र को विवाहका लागि गाउँ लाग्छन् ।

रुद्रकी दुलही अर्थात् रूपा उर्फ जस्मिन श्रेष्ठलाई जब भूपीले पहिलो पटक दुलही पहिरनमा विवाह मण्डपमा देख्छन् तब उनको एकोहोरो प्रेम सुरु हुन थाल्छ । त्यसपछि रूपालाई आफ्नो बनाउन लागि उनले योजनाबद्ध रूपमा गर्ने एकपछि अर्को दुर्घटनाहरू रमाइला देखिन्छन् । यहिँ सेरोफेरोमा फिल्म घुमेको छ । त्यसपछि फिल्ममा विभिन्न एक पछि अर्को नयाँ मोडहरू आउँछन् । चलचित्रमा सौगात र कर्मासँगै सहायक कलाकारहरू सिर्जना सुब्बा, प्रकाश घिमिरे, विमला गिरी, बुद्धि तामाङ लगायतका कलाकाहरूको अभिनय राम्रो छ । अभिनेत्री जस्मिन श्रेष्ठको अभिनय भने आधा—अधुरो लाग्छ । कर्मा सोझो गाउँले युवकको भूमिकामा छन् ।