नेपालमा हुने सलमानको कार्यक्रम स्थगित

काठमाडौँ — बलिउड अभिनेता सलमान खानको नेपालमा हुने भनिएको ‘द ब्यांङ’ कार्यक्रम स्थगित भएको छ। फागुन २६ गते शनिबार टुँडिखेलमा हुने ‘द ब्यांङ’ सलमान खान लाइभ इन नेपाल’ कन्सर्टमा सहभागी हुन आउन लागेका बलिउड अभिनेता सलमान खानको नेपाल आगमन स्थगित भएको हो ।

ओडीसी इन्टरटेनमेन्टका अध्यक्ष सीमान्त गुरुङका अनुसार ‘विशेष कारण’ले सलमान खानको नेपाल कार्यक्रम तत्काललाई स्थगित गरिएको हो।‘अहिले स्थगनमात्रै भएको हो, वैशाख पहिलो साताका लागि कार्यक्रम सारेका छौं,’ गुरुङले भने, ‘टिकट सुरक्षित राख्नुहोला।’ पहिले टिकट खरिद गरेकाले सोही टिकटमा कार्यक्रममा प्रवेश पाउँछन्।

वैशाख पहिलो साताको कार्यक्रम मिति भने एक दुई दिनमै अभिनेता सलमान खानको समय हेरेर तय गरिने गुरुङले बताए।ओडीसी इभेन्ट आयोजना गर्ने नेपाली कम्पनी हो। सिमान्तका अनुसार सलमानसहित प्रभु देवा, ज्याकलिन फर्नान्डेज, जरिन खान, डेजी शाह, मित ब्रदर्सलगायत आउने कार्यक्रम थियो। सलमानका भाइ सोहेल कन्सर्ट हुने स्थान, बस्ने होटल, सुरक्षालगायतका विषयबारे बुझ्न केही साताअघि नेपाल आएर फर्केका थिए।

७ वर्षअघि क्यानेडियन पप गायक ब्रायन एडम्सलाई काठमाडौंमा उतारेर हालसम्मकै सबैभन्दा ठूलो सांगीतिक कार्यक्रम गर्ने ओडीसी इन्टरटेनमेन्टले सलमानलाई ल्याउन लागेको थियो।विप्लव माओवादी निकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घले विज्ञप्ती जारी गर्दै कार्यक्रम नगर्न चेतावनी दिएको थियो। सोही चेतावनीलाई कारण देखाउँदै कार्यक्रम स्थगन गरिएको हो।