द्वन्द्व निर्देशक राजेन्द्र खड्गी जेल चलान

काठमाडौं– द्वन्द्व निर्देशक राजेन्द्र खड्गी जेल चलान भएका छन् । शुक्रबार जिल्ला अदालत काठमाडौंले कलाकारको नाममा विभिन्न व्यक्तिलाई अवैध रूपमा दक्षिण कोरिया पु¥याएको आरोपमा खड्गीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । उनलाई शुक्रबार नै केन्द्रीय कारागार, सुन्धारामा पठाइएको छ । जिल्ला न्यायाधीश टेकनारायण पौडेलको इजलासले शुक्रबार खड्गीलाई जेल चलान गर्न आदेश दिएको प्रहरीले जनाएको छ ।

यसअघि सांस्कृतिक कार्यक्रममा भाग लिन भन्दै खड्गी १२ जनाको टोली लिएर कोरिया गएका थिए । तर, फर्किने बेलामा भने दुई जना मात्र नेपाल आएका छन् । त्यसबारे दक्षिण कोरियास्थित नेपाली दूताबासले प्रहरीलाई जानकारी गराएपछि अनुसन्धान थालिएको थियो ।प्रहरी हिरासतमा रहेका बेला खड्गीले उनीहरूलाई कोरिया लगेको स्वीकार गरेका थिए ।