जबर्जस्ती करणी अभियोगमा १३ वर्षीय बालक प्रहरी नियन्त्रणमा

लिबाङ, रोल्पा– छ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा १३ वर्षीय बालकलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले आफ्नो नियन्त्रणमा लिएको छ ।

प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलका अनुसार मंगलबार साँझको समयमा खेल्न भनी घर बाहिर रहेकी बालिकालाई अँध्यारो हुनेबेला अभियुक्त बालकले ललाइफकाई जबर्जस्ती करणी गरेको पीडितका आफन्तले प्रहरीमा बयान दिएका छन् ।

असह्य पीडा भएपछि बालिकाले घरमा गई आफ्नी हजुरआमासँग घटनाका बारेमा जानकारी गराएकी थिइन् । त्यसपछि पीडित बालिकाकी हजुरआमाले यस विषयमा तत्काल प्रहरीमा उजुरी गरेसँगै जिल्ला प्रहरी कार्यालय रोल्पाको एक टोली घटनास्थल पुगेर घटनाका बारेमा अनुसन्धान गरी अभियुक्त बालकलाई आफ्नो नियन्त्रणमा लिएको थियो ।

बालिकालाई भने मेडिकलपश्चात् अभिभावकको जिम्मा लगाइएको छ । पीडित बालिका सदरमुकामकै एक निजी विद्यालयमा एल केजीमा र अभियुक्त बालक सोही विद्यालयमा कक्षा ४ मा अध्ययनरत छन् ।अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेका बालकलाई जिल्ला अदालत रोल्पाले थप अनुसन्धानका लागि बुधबार १० दिन म्यादथप गरेको स्रेस्तेदार मानबहादुर विष्टले जानकारी दिए ।

जिल्ला न्यायाधीश वासुदेवलाल श्रेष्ठका अनुसार १० वर्षभन्दा मुनिको बालकले अपराध गरेमा कुनै सजायको व्यवस्था छैन । तर १० देखि १४ वर्षसम्मको उमेरमा अपराध गरेको ठहर भएमा छ महिनासम्म कैद हुने कानूनी व्यवस्था छ । चौधदेखि १६ वर्ष सम्मको उमेरमा अपराध गरेमा उमेर पुगेको अपराधीलाई हुने सजायको आधा सजाय हुने कानूनी व्यवस्था छ । यदि अदालतबाट यी अभियुक्त बालकलाई अपराध गरेको ठहर भई सजाय हुने भएमा अधिकतम छ महिनासम्म कैदको सजाय हुनेछ । तर अभियुक्त बालकलाई कारागारमा थुनामा राख्न पाइँदैन । यसरी अपराधमा संलग्न बालकलाई बाल सुधार गृहमा राखी कैदको सजाय असुल गरिने प्रावधान रहेको उनको भनाइ छ ।

प्रहरी नायब उपरीक्षक फुयाँलका अनुसार जिल्लामा बाल सुधार गृह नभएको हुँदा अपराधजन्य गतिविधिमा संलग्न भएका बालबालिकालाई नियन्त्रणमा लिई संरक्षण दिन समस्या हुने गरेको छ ।