नेपालले पायो एक दिवसीय मान्यता

काठमाडौं– नेपालले इतिहास रच्दै पहिलोपटक एक दिवसीय क्रिकेटको मान्यता पाउन सफल भएको छ । बिहीबार जिम्बावेको वल्र्ड हरारियन्स स्पोर्ट्स क्लबको मैदानको प्लेअफ खेलमा प्रतिद्वन्द्वी हङकङलाई नेदरल्यान्डले पराजित गरेसँगै नेपालले एक दिवसीय मान्यता पाएको हो ।

पपुवा न्युगिनीले दिएको ११५ रनको सामान्य चुनौति पछ्याउँदै ब्याटिङ गरेको नेपालले २३ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । प्लेअफ खेलमा पपुवा न्युगिनी नेपालसँग छ विकेटले पराजित हुन पुग्यो । यसरी नेपालले प्लेअफ खेल जिते पनि एक दिवसीय मान्यताका लागि हङकङ र नेदरल्यान्डबीचको खेल कुर्नु परेको थियो । तर, नेदरल्यान्डले हङकङलाई ४४ रनले पराजित गरेसँगै नेपालको भाग्य खुलेको हो ।यदि हङकङले जित हात पारेको भए सातौँ स्थानका लागि प्रतिस्पर्धा हुने नेपाल र हङकङबीचको विजेताले एक दिवसीय मान्यता पाउने थिए । तर, नेदरल्यान्डले यसअघि नै आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको पहिलो बन्दै एक दिवसीय मान्यता पाइसकेकाले नेपालको भाग्य चम्केको हो । अब, विश्वकप छनोटको सातौँ स्थानका लागि नेपालले शनिबार नेदरल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ ।

नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाएका थिए । यसरी नेपालको जितमा मुख्य भूमिका निर्वाह गरेका दीपेन्द्रले अविजित ५० रन बनाए भने आरिफ शेखले २६ र कप्तान पारस खड्काले २० रन बनाए ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले २७ दशमलब दुई ओभरमा सबै विकेटको क्षतिमा एक सय १४ रन मात्रै बनाउन सफल भएको थियो भने न्युगिनीका कुनै पनि खेलाडीले १९ रनभन्दा बढी बनाउन सकेनन् । न्युगिनीका काल्र्स अमिनीले १९, जासन किलाले १५ रन बनाएपनि अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।

बिहीबारको जितसँगै नेपालले अहिलेसम्मकै उच्च सफलता पाएको छ । नेपालले एक दिवसीय मान्यता पाएसँगै २०–२० क्रिकेटको मान्यता पनि पाएको छ भने एक दिवसीय मान्यता पाएसँगै नेपाल रेलिगेसनबाट पनि जोगिन सफल भएको छ ।