७६.६७ प्रतिशत मत प्राप्त गर्दै रुसी राष्ट्रपतिमा पुनः पुटिन निर्वाचित

मस्को (रासस/सिन्ह्वा)– ७६.६७ प्रतशत मत प्राप्त गर्दै रुसको राष्ट्रपतिमा पुनः भ्लादिमिर पुटिन निर्वाचित भएका छन् ।

आइतबार सम्पन्न राष्ट्रपतीय निर्वाचनमा उनी अत्यधिक बहुमतका साथ पुनः निर्वाचित भएको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार यहाँको निर्वाचनको मतमध्ये ९९.८ प्रतिशत गणना गरिसक्दा पुटिनले मात्र ७६.६७ प्रतिशत मत हात पारेका हुन् ।

यो उनका निकटतम प्रतिद्वन्द्वीको तुलनामा निकै नै बढी हो । उनका प्रतिद्वन्द्वीले १२ प्रतिशतमात्र मत प्राप्त गरेका छन् ।

विपक्षीको भन्दा निकै ठूलो मतान्तरले उनले पुन रुसको राष्ट्रपतिमा जित हासिल गरेको विश्वका सञ्चारमाध्यमहरुले समाचार प्रकाशन प्रशारण गरेका छन् ।

राष्ट्रपतीय चुनावमा यो उनको अपेक्षित नै जित हो । यससँगै अब रुसी राष्ट्रपतिका रुपमा पुटिनले थप छ वर्ष रुसलाई नेतृत्व प्रदान गर्ने भएका छन् ।

त्यहाँका प्रमुख विपक्षी नेता एलेक्सेइ नाभाल्नीले भने निर्वाचनमा उठ्न पाएका थिएनन् । निर्वाचनसम्बन्धी कानुन देखाएर उनलाई चुनावमा उठ्न नै रोक लगाइएको थियो ।

आइतबार रुसमा राष्ट्रपति पदका लागि मतदान भएको थियो । विश्वका सञ्चारमाध्यमहरुले सोमबार बिहानैदेखि विपक्षीलाई ठूलो मतान्तरले पछिपार्दै पुटिनले जित हासिल गरेको प्रकाशन प्रशारण गरेका छन् ।

यो उनको चौथो कार्यकाल हो । उनले यो कार्यकालका लागि पनि जित हासिल गर्ने दाबी यसअघि नै गरिएको थियो ।

यस पटकको राष्ट्रपति निर्वाचनमा उनीसहित आठजना उम्मेदवार थिए । तर उनीपछि मत ल्याउने अर्थात् उनका निकटतम प्रतिद्वन्द्वी भने पावेल रुदिनिन थिए ।

पुटिनका निकटतम प्रतिद्घन्दी रुदिनिनले १२ प्रतिशत मात्र मत प्राप्त गरेका छन् । यसलाई कतिपयले भने अस्वाभाविक मत पनि भनेका छन् ।

यसैगरी यस निर्वाचनका अरु प्रतिश्पर्धीमध्ये बढी ल्याउनेले एकजनाले ६ प्रतिशत मात्र मत हासिल गरेका छन् । त्यस्तै अरुले २ र ४ प्रतिशत मात्र मत ल्याएका छन् ।

अधिकारीहरु भन्छन्— सन् २०१२ मा पुटिनले ६४ प्रतिशतमात्र मत प्राप्त गरेका थिए । तर यसपालि ७५ प्रतिशतको हाराहारीमा हुनसक्छ ।

पुटिनले रुसलाई सन् १९९९ देखि नै नेतृत्व गर्दै आएका छन् । पछिल्ला सर्वेक्षणहरुले उनलाई थप लोकप्रिय भएको देखाएका छन् भने कतिपयले यसलाई लोकप्रियता भन्दा बढी प्रभाव जमाएको भन्न रुचाउँछन् ।

यस पटकको निर्वाचनमा क्रेम्लिनले अपेक्षा गरेकोभन्दा मत भने कम खसेको थियो । आइतबारको निर्वाचनमा ६४ प्रतिशत भन्दा थोरैमात्र बढी मत खसेको थियो ।

राष्ट्रपति पुटिनको चुनावी अभियान टोलीका सदस्यहरुले उनले प्राप्त गरेको मत अपेक्षित नै रहेको भन्दै यो जनादेश पुटिनलाई भविष्यमा आवश्यक निर्णय गर्न र निर्वाध रुपमा सरकार चलाउन सहज हुने प्रतिक्रिया दिएका छन् ।

जनताले मेरो कामको अनुमोदन गरेः राष्ट्रपति पुटिन

चुनावको नतिजा जितको निश्चित आएपछि पुटिनले मस्कोमा आफ्ना समर्थकहरुको एक सभालाई सम्बोधन गरेका छन् ।

त्यस सम्बोधनमा उनले आफूले विगतमा देश र जनताको लागि उपलब्धिमूलक काम गरेकोले देशबासीहरूले आफ्नो सो कार्यको अनुमोदन गरेको बताएका थिए ।

उनले रुसले गएका केही वर्षयता अभूतपूर्व आर्थिक विकास गरेको बताए । उनको भनाई थियो— मेरो निर्वाचनको एजेण्डा पनि यही नै थियो, मेरो कार्यकालमा चीनको आर्थिक बृद्धि भएको छ त्यसैले देशको भविश्यका लागि मतदान गर्नुहोस् भनेर जनतासँग अपिल गरेको थिएँ ।

यस जितपछि आफूमाथि देशको थप प्रगति र विकासका लागि जिम्मेवारी बढेको जानकारी दिए । उनले सबैका सहयोगले सुन्दर र प्रिय देश रुसलाई राम्रो बनाउने धारणा पनि राखे ।

पत्रकारको प्रश्नः फेरि पनि उठ्ने कि ?

त्यस सम्बोधनका क्रममा त्यहाँ उपस्थित पत्रकारहरुले उनलाई फेरि अर्काे ६ वर्षे कार्यकालका लागि पनि उठ्नुहुन्छ कि उठ्नुहुन्न भनी प्रश्न गरेका थिए ।

राष्ट्रपति पुटिन पत्रकारहरूको सो जिज्ञासा सुनेर निकै लामो हाँसो हाँसेको मस्कोबाट प्राप्त समाचारमा जनाइएको छ ।

यस प्रश्नलाई उनले एउटा ठूलो ठट्टा भनेर जवाफ दिएका थिए । उनले भनेका थिए— यहाँहरूलाई लाग्ला म सयवर्षको उमेरसम्म पनि पदमै रहनेछु, तर त्यस्तो हुदैन ।

राष्ट्रपति पुटिनले त्यस्तो होइन भन्दै भने— केही वर्षयता हामीले देशमा गरेका विकासका काम, आर्थिक बृद्धि तथा अरु देशका लोकप्रिय कामका लागि मतदाताहरुले मलाई छान्नुभएको हो, यसबाहेक अरु केही होइन ।

चिनियाँ राष्ट्रपति चिनफिङको बधाई

यसैबीच चिनियाँ राष्ट्रपति चिनफिङले रुसी राष्ट्रपतिमा पुटिन निर्वाचित भएकोमा बधाई ज्ञापन गरेका छन् । उनी रुसी राष्ट्रपति पुटिनलाई बधाई दिने पहिलो विदेशी राष्ट्रप्रमुख बनेका छन् । पुटिनको मतगणना अन्तिममा पुगेपछि नै चिनियाँ राष्ट्रपति चिनफिङले पुटिनलाई एक सन्देश पठाई बधाई दिएको समाचारमा जनाइएको छ ।

चिनियाँ समाचार समिति सिन्हकाअनुसार उनले पठाएको बधाई सन्देशमा पुटिनको आगामी कार्यकालमा चीन र रुसबीचको सम्बन्ध थप सुदृढ बन्ने उनले अपेक्षा गरेका छन् ।

पुटिनको नेतृत्वमा उनको आगामी छ वर्षे कार्यकालमा रुस थप समुन्नत, विकसित र समृद्ध बन्ने अपेक्षा चीनले गरेको राष्ट्रपति चिनफिङले बताएका छन् ।

उनले भने— ‘यस समयमा दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउन र सहयोग र सहकार्यका नयाँ क्षेत्रहरुको पहिचान गर्न पनि रुस सफल हुने अपेक्षा आफूले गरेको उहाँले सो सन्देशमा जनाउनुभएको छ ।’