छोटो पदमार्गका रुपमा विकास हुँदै ʿपामे–भुम्दीकोटʾ

वासुदेव पौडेल, पोखरा– फेवातालसहितका हिमाली दृश्यहरू र सराङकोटबाट आकाशमा चराजस्तै उडिरहेका प्याग्लाइडिङको अवलोकन गर्दै पदयात्रा गर्न सकिन्छ, पामे–भुम्दीकोट पदमार्गमा ।

स्थानीयवासी मीनबहादुर विकका अनुसार पछिल्ला दिन दुई दिनसहित एक रातको बिताउन सकिने मार्गका रुपमा यो क्षेत्र पर्यटकको रोजाइमा पर्न थालेको छ । फलतः पामेबाट चापाकोट, घडेरी, पलैंचे हुँदै भुम्दीकोट पुग्ने पदमार्ग आसपासमा व्यावसायिक रुपमा होटेल सञ्चालनको क्रम पनि बढेको छ ।

चापाकोट घडेरीमा इको भिलेज रिसोर्ट सञ्चालन गदै आएका मीनबहादुरका अनुसार स्वदेशी एवं विदेशी पर्यटकको आगमन बढ्दै जान थाले पछि व्यावसायिक रुपमा होटल व्यवसाय सञ्चालन गर्न यतिखेर स्थानीयवासी उद्यत छन् ।

जथाभावी बाटो खनिने क्रमसँगै कतिपय पदमार्ग छोटिएको र कतिपय लोप भैसकेको वास्तविकतामा नयाँ पदमार्गको खोजी र विस्तारलाई ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल९टान०ले प्राथमिकता दिएको टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष दीपक अधिकारीले बताए ।

‘विस्तारका नाममा बिना योजना नै जथाभावी बाटो खन्ने क्रमले पदमार्ग छोटिँदै र र हराउँदै गएका छन्,’ उनले भने, ‘टान पश्चिमाञ्चल क्षेत्रीय संघले यही तथ्यलाई दृष्टिगत गरी नयाँ पदमार्गको खोजी र विस्तारलाई अघि बढाएको छ ।’

संघ स्थापनाको २५ औं वर्ष पुगेका अवसरमा पामे–भुम्दीकोट पदमार्गको प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गरिएको उनले बताए । ‘यस पदमार्गको प्रवद्र्धनको उद्देश्यका साथ नेपाल पर्यटन बोर्डको सहकार्यमा पदयात्रा पर्यटनमा लागेका व्यवसायी, सञ्चारकर्मीसमेतको सहभागितामा हामीले यहाँको स्थलगत अवलोकन गरायौं,’ उनले भने, ‘पर्यटकलाई दुई दिनसहित एक रात बिताउने गरी यस पदमार्गको विकास गर्न सकिने देखिन्छ ।’

फेवातालको सिरान पामेबाट सुरु हुने यो पदमार्ग ठाडोबाटो हुँदै चापाकोट र चापाकोटाबाट घडेरी, पलैंचे हुँदै भुम्दी पुग्न सकिन्छ ।

लगभग पाँच घण्टाको समयमा भुम्दीकोट पुगी त्यो रात भुम्दीकोटमा बिताएर भोलिपल्ट भुम्दीकोटबाट कालाभाङ घडेरी हुँदै विश्व शान्ति स्तुपबाट पोखरा फर्कन सकिन्छ ।

पर्यटकीय सम्भावनायुक्त पदमार्ग र गन्तव्य प्रवद्र्धनका लागि पर्यटनसम्बद्ध संघसंस्थासँग नेपाल पर्यटन बोर्डले सहकार्य गर्ने बोर्डका पोखरा कार्यालयका प्रमुख सूर्य थपलियाले बताए ।

‘बोर्डले सम्भावनायुक्त पदमार्गको खोजीका लागि ‘द लस्ट ट्रेल’ कार्यक्रम अघि बढाएको छ,’ उनले भने, ‘पर्यटनका विभिन्न आयामको विकासका साथै पोखरा र आसपासका क्षेत्रको पर्यटन प्रवद्र्धनमा बोर्ड निरन्तर लागिरहेको छ ।’ पोखराबाट पामे हुँदै आउने पर्यटकहरू एक रात भुम्दीकोटमा बिताएर विश्वशान्ति स्तुप हुँदै पोखरा फर्कने गरेको भुम्दीकोटस्थित हिमालयन भ्यु टि हाउसका सञ्चालक यम गुरुङ (माइला)ले बताए ।

भुम्दीकोटबाट देखिने मनोरम हिमाली दृश्यको अवलोकनका लागि पर्यटक लोभिने गरेका छन् । विशेष गरी लालीगुराँस फुल्ने फागुन–चैतको समयका साथै पैँयु फुल्ने समयमा विदेशी पर्यटकहरूको भुम्दीकोटमा ओइरो लाग्ने गरेको छ ।

भुम्दीकोटमा धेरै जातका चरा पाइने र यो ठाउँ चराको अध्ययन गर्न चाहने अन्वेषकको रोजाइमा पर्ने गरेको उनको भनाइ छ । पदयात्रा पर्यटनका साथै दृश्यावलोकनका धेरै सम्भावना रहेर पनि यो क्षेत्र अपेक्षित विकास हुन नसकेको लालीगुराँस आमा समूहका अध्यक्ष कृष्णकुमारी पौडेलले बताए ।

यहाँको पदयात्रासहित समग्र पर्यटकीय विकासलाई लक्ष्य गरी चापाकोट र यस आसपासका क्षेत्रलाई समेटेर इको भिलेजको अवधारणा अघि सारिएको सामाजिक एकता पर्यावरणीय गाउँ समाजका अध्यक्ष रमेशचन्द्र गिरीले बताए ।

‘हामीले यो गाउँलाई प्लाष्टिकरहित पर्यावरणीय गाउँका रुपमा विकास गरिरहेका छौं,’ उनले भने, ‘पदयात्रामा आउने पर्यटकले ल्याउने प्लाष्टिकजन्य फोहरका साथै अन्य फोहरलाई व्यवस्थित गर्न ठाउँठाउँमा डोका राखेका छौं ।’

इको भिलेज कार्यक्रमअन्तर्गत यस क्षेत्रमा पदयात्राका लागि आउने पर्यटकलाई प्राङ्गारिक तरकारी उत्पादन गरी खुवाउने सोचका साथ स्थानीयवासी क्रियाशील बनेको पुम्दीस्थित दुर्गा आधारभूत विद्यालयका शिक्षक ज्ञानप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार गाउँमा मकै, कोदो, गहुँ, आलु जस्ता कृषि उपजका साथै सागसब्जी उत्पादन हुने गरेको छ । भुम्दीकोट मन्दिरका साथै पदयात्रा मार्गमा पर्ने देउराली मन्दिर यहाँका धार्मिक स्थलहरु हुन् ।

पौडेलका अनुसार यहाँस्थित देउराली मन्दिरमा प्रत्येक वर्ष खेती थाल्ने र थन्क्याउने बेलामा स्थानीयवासीले पाठी काटेर बली दिँदै पूजा गर्छन् ।