बागलुङ (रासस) नयाँ वर्ष २०७५ को अवसरमा गलकोटस्थित पर्यटकीय लेक घुम्टेमा ‘गुराँस उत्सव’ हुने भएको छ ।
गलकोट घुम्ने पर्यटन विकास केन्द्रले आयोजना गर्ने उत्सव यही चैत ३० र वैशाख १ गते चल्नेछ । तीन हजार १२० मिटरको उचाइमा अवस्थित घुम्टेमा विगत पाँच वर्षदेखि ‘गुराँस उत्सव’ आयोजना हुँदै आएको छ ।
घुम्टेको पर्यटन प्रवद्र्धन र लालीगुराँस संरक्षणको सन्देश दिन उत्सव आयोजना गरिएको केन्द्रका अध्यक्ष झङ्कबहादुर बस्नेतले बताए ।
केन्द्रले घुम्टेलाई ‘गुराँसको पहाड’ घोषणा गर्न र वैशाख १ गतेलाई ‘राष्ट्रिय लालीगुराँस दिवस’ घोषणा गर्न सरकारसँग माग गर्दै आएको छ । धार्मिक, प्राकृतिक तथा जैविक हिसाबले महत्वपूर्ण घुम्टे लेकको पर्यटकीय विकास र प्रवद्र्धनका लागि गुराँस उत्सवले टेवा पुग्ने ठानिएको छ ।
‘घुम्टेमा गुराँस फुल्ने याममा पर्यटकको आकर्षण बढाउन गुराँस उत्सव गर्ने गरिएको छ’, अध्यक्ष बस्नेतले भने, ‘घुम्टेको पर्यटन विकास र प्रवद्र्धनमा उत्सवले टेवा पुग्ने हाम्रो विश्वास छ ।’ घुम्टेको धुरीमै पाँच वर्षअघि मैत्रीपूर्ण पर्यटन भेला आयोजना गरेको केन्द्रले त्यसयता लगातार गुराँस उत्सव गर्दै आएको छ ।
उत्सवका अवसरमा अवलोकन यात्रा, कला–संस्कृतिको प्रदर्शनी, सूर्यास्त र सूर्योदयको अवलोकन, झण्डोत्तोलन, ‘क्याम्प फायर’, मुख्य समारोहलगायतका कार्यक्रमको आयोजना गरिएको छ ।
चैत मसान्तमा घुम्टे चढ्नेहरु उक्त दिन घुम्टेको लेकमै रात बिताएर नयाँ वर्षलाई स्वागत गरी तल झर्नेछन् । सो अवसरमा घुम्टे चढ्ने पर्यटकलाई त्यहाँ अवस्थित प्रसिद्ध सिद्ध र भैरवको मन्दिरमा पूजाआजाको समेत अवसर पाउनेछन् ।
उत्सवमा सोरठी, सालैजो, यानीमाया, घुम्टे साइलाजस्ता मौलिक संस्कृति झल्कने गीत, नृत्य तथा झाँकीको प्रदर्शनी राखिएको केन्द्रका वरिष्ठ उपाध्यक्ष राज थापाले जानकारी दिए ।
‘नयाँ वर्षलाई घुम्टेको लेकमा मनाउने अवसर पनि हो यो’, वरिष्ठ उपाध्यक्ष थापाले भने । चैत–वैशाखमा घना वन क्षेत्रमा फुल्ने विभिन्नथरिका गुराँसले घुम्टेको लेक राताम्मे हुने गरेको छ । केन्द्रले घुम्टेलाई पर्यटकीय क्षेत्र घोषणा गर्ने, संरक्षित वन क्षेत्र बनाउने र जडीबुटीको अध्ययन केन्द्र बनाउने योजना अघि सारेको छ ।
यस्तै, मन्दिरको स्तरीकरण गर्ने, पदमार्गलाई गुणस्तरीय बनाउने र पर्यटनसँग सम्बन्धित पूर्वाधार निर्माण गर्ने लक्ष्य पनि लिइएको छ ।
पर्यटन मन्त्रालयको आर्थिक सहयोग र स्थानीयवासीको जनश्रमदानमा घुम्टेसम्म जाने छ किलोमिटर पदमार्ग निर्माण भइसकेको छ । मन्दिरलगायतका पूर्वाधारको विकास र स्तरोन्नतिको काम पनि अघि बढेको छ । जिल्लाको मध्यभागमा अवस्थित घुम्टेमा वर्षेनी वैशाखे पूर्णिमाको अवसरमा ठूलो मेला लाग्ने गर्छ ।