‘सपिङ्ग मल’ मा आगलागी हुँदा ४८ को मृत्यु

मस्को (एजेन्सी)– रसियाको दक्षिणी भागमा पर्ने केमेरोभो सहरमा रहेको एक ‘सपिङ्ग मल’ (किनमेल केन्द्र) मा आइतबार आगलागी हुदा कम्तीमा ४८ व्यक्तिको मृत्यु भएको समाचार छ ।

यस आगलागीमा परी ४५ व्यक्ति घाइते भएका छन् । आगोको मुस्लोका कारण ६४ जना अझै बेपत्ता छन् । बेपत्ता रहेकामा ४१ जना बालबालिका पनि परेका स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन ।

सो सपिङ्ग मलमा रहेका करिब १२० व्यक्तिलाई भने सुरक्षित स्थानमा सारिएको समाचारमा जनाइएको छ । प्रहरीले उद्वार कार्य जारी राखेको छ ।

सपिङ्ग मलको करिब १ हजार स्क्वायर मिटरमा सो आगलगाी फैलिएको रसियाली समाचार समिति स्पुत्नीकले जानकारी दिएको छ ।

रसियाली सङ्कटकालीन व्यवस्थापन मन्त्रालयको सोमबार जारी विज्ञप्तिका अनुसार आगलागी भएको सो इलाकामा धुँवाको निकै बाक्लो मुस्लो माथिसम्म उडेको देखिएको छ ।

यसकारण पनि आगलागीमा फसेका नागरिकको उद्वारका लागि निकै ठूलो समस्या परेको अधिकारीहरुले जानकारी दिएका छन् ।

रसियाली सङ्कटकालीन व्यवस्थापन मन्त्री भ्लादिमिर पुचकोभकाअनुसार आगलगी भएको सो सपिङ्ग सेन्टरमा पहिलो चरणको खोजी र उद्धारकार्य स्थानीय समयानुसार साँझको ६ बजे सम्म सकिने छ ।

मौसम अत्यन्त चिसो भएको कारण सो समयभन्दा बढी खोजी र उद्धारकार्य जारी राख्न नसकिने उनले जानकारी दिएका छन् ।

यस आगलगीको कारण भने अझै खुलेको छैन । आगलागीको कारण अनुसन्धानरत रेहको जनाइएको छ ।