महेन्द्र सिंह धोनीलाई पद्म भूषण सम्मान

काठमाडौं–भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्र सिंह ध्वनीलाई पद्मभूषण सम्मान प्रदान गरिएको छ । पद्मभूषण सम्मान भारत रत्न तथा पद्मविभूषणपछिको भारतको तेस्रो उच्च दर्जाको नागरिक सम्मान हो ।

३७ वर्षीय ध्वनी यो सम्मान पाउने पूर्वकप्तान कपिलदेव पछिका दोस्रो भारतीय क्रिकेटर हुन् । सोमबार भारतका राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति निवासमा भएको एक विशेष समारोहका बीच ध्वनीलाई पद्मभूषण सम्मान प्रदान गरेका हुन् ।

सम्मान ग्रहण गर्दा पूर्वकप्तान ध्वनी भारतीय सेनाको लेफ्टिनेन्ट कर्नेलको युनिफर्ममा राष्ट्रपति निवासमा सरिक भएका थिए । सन् २०११ को विश्वकप क्रिकेटको उपाधि ध्वनीले आफ्नो नेतृत्वमा भारतका लागि दिलाएको भन्दै उनलाई भारतीय आर्मीले सोहि वर्षको नोभेम्बर १ मा लेफ्टिनेन्ट कर्नेलको दर्जा प्रदान गरेको थियो ।भारतीय क्रिकेटका लागि सफल कप्तान मानिने ध्वनीको कप्तानीमा नै २८ वर्षपछि भारतले आफ्नै भुमिमा दोस्रो पटक विश्वकप जितेको थियो ।