पार्टी एकता संयोजन समितिको बैठक आज बस्दै

काठमाडौं– नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आज बस्दै छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा कार्यदलले मिलाउन नसकेका प्राविधिक विषयमा सहमतिको प्रयास हुने बताइएको छ ।कार्यदलमा एकीकृत पार्टीको चुनाव चिह्न र विधानको प्रस्तावनामा ‘जनयुद्ध’ शब्द राख्ने या नराख्ने भन्ने विषयमा कुरा मिलेको छैन । संयोजन समितिको बैठकमा विशेष गरी यिनै दुईवटा विषयमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अघि नै यी विषयलाई टुंगो लगाउने प्रयास नेताहरुले गरेका हुन् । एकता संयोजन समितिको आजको बैठकमा प्राविधिक विषयहरुमा सहमति जुटेमा पार्टी एकता घोषणा तयारी समिति गठन गर्ने नेताहरुले बताएका छन् ।

एमाले र माओवादीका नेताहरुले नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर आगामी बैशाख ९ गते पार्टी एकता घोषणा गर्ने बताएका छन् । पार्टी एकताको निर्णय अनुमोदन गर्न एमालेले बैशाख ६ गते पोलिटब्यूरो र ७ गते केन्द्रीय समितिको बैठक बोलाएको छ ।