तत्काल एन्फा निर्वाचन गर्न माग

काठमाडौं (पास)– नेपाली फुटबललाई अन्धकारमा जानबाट रोक्न अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचन तत्काल गर्न फुटबल क्लबहरुले माग गरेका छन् । फुटबल क्लब समन्वय समितिले बुधबार पत्रकार सम्मेलन गर्दै नेपालमा नियमित फुटबल गतिविधि सन्चालनको स्थगित निर्वाचन तत्काल गर्न माग गरेको हो ।

उच्च अदालत पाटनले गत चैत ११ गते एन्फा निर्वाचन नगर्न अन्तरिम आदेश दिएपछि चैत १४ गते तय भएको एन्फाको निर्वाचन स्थगित भएको थियो । अदालतको आदेशपछि एन्फाले अर्को सूचना नआएसम्मको लागि निर्वाचन स्थगित भएको जनाएको थियो ।

तोकिएको समयमा निर्वाचन नभएपछि छलफल गर्न एसियाली फुटबल महासंघ एएफसीको टोली समेत नेपाल आएर फर्कीसकेको छ । तर, स्थगित निर्वाचनको नयाँ मिति नआएपछि ए, बि र सी डिभिजन क्लबका साझा सस्था फुटबल क्लब समन्वय समितिले पत्रकार सम्मेलनबाट निर्वाचन रोकिँदा नेपाली अन्योलमा पुगेको कारण स्थगित निर्वाचन चाँडो सम्पन्न गरेर फुटबललाई निकास दिन माग गरेको हो ।

भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुखजु र मकवानपुर जिल्ला फुटबल संघका उपाध्यक्ष मनिष श्रेष्ठले आफूहरुलाई निर्वाचनबाट वञ्चित गराइएको भन्दै दिएको रिटमा सुनुवाइ गर्दै न्यायाधीश राजकुमार वनको एकल इजलासले निर्वाचन नगराउन आन्तरिम आदेश दिएको थियो ।