आइसीसीका १०४ राष्ट्रलाई टी–२० मान्यता

काठमाडौं (पास)– अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) सँग आबद्द सबै राष्ट्रहरुले टि–ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेका छन् । भारतको कोलकातामा बिहीबार बसेको आईसीसीको बोर्ड बैठकले सबै टि–ट्वान्टी खेललाई अन्तर्राष्ट्रिय मान्यता दिने निर्णय गरेको हो ।

आईसीसीको यो निर्णयसँगै आईसीसीसँग आबद्द राष्ट्रको पुरुष र महिला टोलीले खेल्ने टि–ट्वान्टी खेललाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुने छ । आईसीसीसँग टेष्ट र एसोसियट गरी १०४ राष्ट्र आबद्द छन् ।

यसअघि आईसीसीको टेष्ट राष्ट्र र एकदिवसीय मान्यता प्राप्त राष्ट्रबीचको खेलले मात्र अन्तर्राष्ट्रिय मान्यता पाउने गरेको थियो । हाल टि – ट्वान्टी मान्यता पाएको १८ राष्ट्रमा १२ टेष्ट राष्ट्र रहेका छन् । यस्तै नेपाल, हङकङ, युएई, स्कटल्याण्ड, नेदरल्याण्ड र ओमानले पनि टि – ट्वान्टीको मान्यता पाएको थियो ।

आईसीसीले बिहीबार जारी गरेको विज्ञप्तिमा पुरुष टिमले सन् २०१९ जनवरी १ बाट अन्तर्राष्ट्रिय मान्यता पाउने जनाएको छ । यस्तै महिलाले जुलाई १ बाट अन्तर्राष्ट्रिय मान्यता पाउने जनाईएको छ । यस्तै आईसीसीले बिहीबार विश्व क्रिकेट विकासको लागि फ्युचर टुर्स प्रोग्रामको घोषणा गरेको छ ।

आईसीसीका प्रमुख कार्यकारी अधिकृत डेभिड रिचर्डसनले फ्युचर टुर्स प्रोग्रामको सन् २०१९ देखी २०२३ सम्म हुने विज्ञप्तिमा उल्लेख गरेका छन् । यस्तै एसोसियटतर्फ नेपाल, हङकङ, युएई, स्कटल्याण्ड, नेदरल्याण्ड र ओमानले पनि टि – ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता पाईसकेको छ ।

कोलकातामा बसेको आईसीसीको बोर्ड बैठकले नेपाल क्रिकेट संघ (क्यान) को पछिल्लो कार्यबारे समेत छलफल गरेको छ । आईसीसीको विज्ञप्तिमा निलम्बित क्यानमा भएको पछिल्लो गतिविधिबारे बोर्डलाई जानकारी आएको बताइएको छ । निर्वा्िचत क्यानले गत बिहीबार आईसीसीको सल्लाहकार समितिले बनाएको विधानलाई विशेष साधारणसभाबाट हुबहु पारित गरेको थियो । विधान पारित भएसँगै क्यान निलम्बनबारे जुलाईमा हुने आईसीसीको वार्षिक साधारणसभाले ठोस निर्णय गर्नेछ ।