गृहमन्त्रीको निर्देशनपछि व्यवसायी पक्राउ पर्न थाले

काठमाडौं (पास)– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सिन्डिकेट खारेज गर्ने सरकारको निर्णयको विरोध गर्दै यातायात सेवा ठप्प पार्ने व्यवसायीलाई कारवाही गर्न देशभरका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएसँगै यातायात व्यवसायी पक्राउ पर्न थालेका छन् ।

निर्देशनपछि बुटबलबाट पश्चिम नेपाल बस व्यवसायी समितिका पदाधिकारी जीवन बञ्जाडे र पदम गाहामगर पक्राउ परेका छन् । बञ्जाडे उपाध्यक्ष र गाहा मगर महासचिव हुन् ।

रुपन्देहीका एसपी श्याम ज्ञवालीका अनुसार अत्यावश्यक सेवा ऐन २०१४ अनुसार कानुनी कारवाहीको प्रक्रिया अघि बढाइएको छ । गृहमन्त्री थापाले शुक्रबार बिहान गृहसचिवमार्फत देशभरका प्रमुख जिल्ला अधिकारीलाई यस्तो निर्देशन दिएका थिए ।