साउदीमा जेल जीवन विताइरहेका इलामका प्रेम राई बचाउन अभियान सुरु

काठमाडौं (पास)– घर–परिवारलाई सुखी र खुशी राख्ने सुन्दर सपना सजाउँदै परदेशिएका ईलामका प्रेम राईका सपनामा तुषारापात आएको छ । खाडीको मरुभूमीमा पसिना बगाएर भएपनि केही आर्जन गरी जीवनलाई केही सहज ढंगबाट व्यतित गर्ने उनको योजना यतिबेला भत्किएको छ । पैसा कमाउन गएका उनी आफैलाई मरुभूमीबाट ज्यान उकास्न अरुबाट सहयोगको आशामा वस्नुपरेको छ ।

राईलाई नेपाल फर्काउनका लागि यतिबेला देश–विदेशमा रहेका सवै मनकारी हातहरु जुट्न थालेका छन् । यसै क्रममा विगत २१ महिनादेखि साउदीमा जेल सजाय भोगिरहेका इलामको माई नगरपालिका ५ का प्रेम राईले जेलमुक्त गराउनको लागि अभियान सुरु गरिएको छ । उनलाई रिहा गराउनको लागि आवश्यक ३ लाख १० हजार रियल अर्थात् करिब ९५ लाख रुपैयाँ जुटाउन कुवेतबाट चक्र कुलुङ राईको संयोजकत्वमा ‘प्रेम बचाउ’ अभियान सुरु गरिएको हो ।

सन् २०१२ मा रोजगारीका लागि साउदी उडेका प्रेमबहादुर जेल परेको २१ महिना भइसकेको छ । साउदीमा लरी चलाउने राईले पार्किङमा राखेको गाडी हराएको र भेट्टिँदा सामान हराएको, फुटेको अवस्थामा भेटिएको थियो । कम्पनीभन्दा १० किलोमिटर टाढा रियादको जनदिया पुगेपछि पार्किङमा गाडी रोकेर साथी भेट्न गएका प्रेम फर्कदा पार्किङ बाटै गाडी हराएको थियो ।

कम्पनीले आफूले निर्देशन गरेको बाटो बदलेको र १३ घण्टा सडकमा बिताएको भन्दै राईमाथि मुद्दा चलाएको थियो । अदालतले कम्पनीकै कुरालाई सदर गर्दै राईलाई दोषी ठहर ग¥यो । लापरवाही गरेको अभियोगमा उनले ५० कोर्रा र दुई महिना जेल सजाय भोगिसकेका थिए ।

सजाय सकिएपछि घर फर्कन खोज्दा कम्पनीले उनलाई पासपोर्ट दिनुको सट्टा गाडीको सामान हराएको र तोडफोड गरेको भन्दै फेरि मुद्दा हालेर क्षतिपूर्ति माग्यो । राई अहिले दोहोरो मुद्दा खेपिरहेका छन् ।
राई बचाउ समिति कुवेतका अभियन्ताहरुले सहयोग संकलन सुरु भइसकेको र सहयोग पनि आउन थालिसकेको जानकारी दिएका छन् । उनीहरुले सहयोगका लागि सबैलाई आग्रह गरका छन् ।

सहयोगका लागि शाखाका संयोजक तथा कोषाध्यक्ष चक्र कुलुङ राईको सम्र्क नम्बर ९६६२४३६७२०, सदस्य सचिव ललित कुलुङ राइको सम्पर्क नम्बर ९६५०१५११३० वा अरु सदस्यलाई सम्पर्क गरेर पनि सहयोग गर्न सकिने छ ।

त्यस्तै कुलुङ संघ काठमाडौंको सहायतामा सहयोग रकम संकलनका लागि नेपाल इन्भेष्टमेन्ट बैंकमा ०२९०५०३०२८५१७९ नम्बरको खाता खोलिएको छ ।