पाल्पा बस दुर्घटनामा १२ जनाको मृत्यु

पाल्पा (पास)– पाल्पाको रम्भा गाउँपालिका–४, हुँमिनको धारादी वनमा आज बिहान बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा नौ पुरुष र तीन महिला रहेका छन् । प्रहरी उपरीक्षक दिल्लीराज पन्तका अनुसार सदरमुकाम तानसेनबाट रामपुरतर्फ जाँदै गरेको लु२ख ९७५ नं को बस हुमिनमा दुर्घटना भएको हो ।

लक्ष्मी बचत तथा ऋण सहकारी संस्था तानसेनको अध्ययन अवलोकन भ्रमणमा निस्केको सहकारी टोली चढेको बस सडकबाट करीब १५० मिटर तल खसेको प्रउ पन्तले जानकारी दिनुभयो । बसमा २७ जना सवार थिए । घाइतेमध्ये १० जनाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ ।

गएरातिदेखि अविरल वर्षाका कारण उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।