संघीय सांसदको कार्य कानून निर्माण गर्ने होः मन्त्री पण्डित

विराटनगर– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबुु पण्डितले संघीय सांसदको कार्य कानून निर्माण गर्ने भएको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले प्रत्येक निर्वाचन क्षेत्रको विकास कोषका लागि छुट्याएको चार करोड रकममा संघीय सांसदहरूले सहयोगी भूमिका मात्र निभाउनु पर्ने प्रष्ट पारे ।

उनले उक्त रकम खर्च गर्ने सम्बन्धमा सरकारले आवश्यक प्रक्रिया ल्याउन नै बाँकी रहेको बताए । मन्त्री पण्डिले स्थानीय निकायका प्रमुख पदका ९५ प्रतिशत कर्मचारी पठाइसकिएको र उनीहरूले आफ्नो कार्य गरिरहेको बताउँदै बाँकी रहेको कर्मचारी यही जेठ मसान्तसम्म आ–आफनो कार्य क्षेत्रमा पुगी जनताको सेवामा तल्लीन हुने उल्लेख गरे । उनले स्वच्छिक अवकास हाल स्थगित रहेको जानकारी दिँदै नियमित रूपमा अहिलेसम्म दुई हजार कर्मचारीले अवकास लिएको र बाँकीले आफ्नो कार्य प्रारम्भ गरि सकेका छन् भने ।

उनले कर्मचारीका सम्बन्धमा प्रस्तावित संघीय निजामती विधेयक कानून मन्त्रालय पुगेको जानकारी दिँदै निजामतीमा धेरै कर्मचारी संगठन आवश्यक नरहेको र एउटा निर्वाचित कर्मचारी संगठन मात्र हुनुपर्ने धारणा राखे ।

प्रदेशमा कर्मचारीको पदपूर्तिका लागि आवश्यक प्रदेशिक लोकसेवा आयोग निर्माण भई सोहीअनुसार हुने बताउँदै उनले अहिले आवश्यक रहेको केही प्राविधिक पदमा कर्मचारी राख्न सकिने धारणा व्यक्त गरे ।