म्याद गुज्रेको चामल फिर्ता

रुकुम (रासस)– खाद्य संस्थान रुकुमले जिल्लाको आठबीसकोट नगरपालिकामा अनुदानमा पठाएको चामल म्याद गुज्रिएको फेला परेको छ ।

नगरपालिका–१ र २ स्यालाखदीमा पठाएको चामलको म्याद गुज्रिएको भन्दै स्थानीयवासीले उक्त चामल फिर्ता पठाएका छन् ।

स्थानीयले म्याद सकिएको ४० क्विन्टल चामल फिर्ता पठाएका हुन् । सो चामललाई आज जिल्ला खाद्य संस्थानमा पु¥याइएको छ ।

स्यालाखदीका लागि पठाइएको ४० क्विन्टल चामल म्याद सकिएको पाइएको वडा ३ का वडाध्यक्ष देवबहादुर यरीले जानकारी दिए । गाउँमा आएको चामल लिन गएका यहाँका सर्वसाधारणले चामल पुरानो र कीरा लागेको भेटेपछि फिर्ता पठाएको उनको भनाइ छ ।

दुर्गममा ठेकेदारले म्याद गुज्रिएको गुणस्तरहीन चामल वितरण गर्न खोजेकाले उनले ठेकेदारलाई कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह पनि गरे ।

यता जिल्ला खाद्य संस्थानका प्रमुख चन्द्र खड्काले भने उक्त चामल म्याद नगुज्रिएको बताएका छन् । ‘म पनि त्यही चामल खान्छु’ उनले भने, ‘मैले प्रयोग गर्ने चामल गाउँ पठाएको हो ।’

चामलमा सामान्य घुन कीरा लागेको र बोरा पुरानो भएकाले स्थानीयवासीले शंका गरेको प्रमुख खड्काले बताए । यसका लागि खाद्य संस्थान रुकुमले केन्द्रमा उक्त चामल खान मिल्ने नमिल्ने जाँचका लागि अनुरोध गरेको छ ।

संस्थानका प्रमुख खड्काका अनुसार स्यालाखदीका लागि ठेकेदार धुव्र केसीले चामल वितरणको लागि जिम्मा लिएका थिए । ‘जिल्लाभर उक्त चामल वितरण गरेका छौं’ उनले भने, ‘तर कतैबाट अहिलेसम्म गुनासो आएको छैन् ।’