के हो यार्सागुम्बा ? कहाँ पाइन्छ ?

काठमाडौं– नेपालमा पाइने ७०० भन्दा बढी औषधिजन्य जडीबुटीमध्ये यार्सागुम्बा सबैभन्दा मूल्यवान छ । यो जुडीबुटी विगत दुई शताब्दीदेखि चिनियाँको दैनिक औषधि उपचारमा प्रयोग हँुदै आए पनि नेपाली मानसपटलमा भने दुई दशकअघिमात्र परिचित हुन आएको देखिन्छ ।

हाल नेपालका डोल्पा, दार्चुला, जुम्ला, हुम्ला, मुगु, कालीकोट, बझाङ, बाजुरा, जाजरकोट, रुकुम, रोल्पा, बागलुङ, म्याग्दी, मुस्ताङ, मनाङ, लमजुङ, गोर्खा, धादिङ, रसुवा, सिन्धुपलाञ्चोक, दोलखा, रामेछाप, सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङ गरी २५ जिल्लाका उच्च क्षेत्रमा यार्सागुम्बा उत्पादन हुने देखिन्छ ।

यद्यपि डोल्पा, दार्चुला, रुकुम र बझाङ यार्सागुम्बा उत्पादन र गुणस्तरका हिसाबले महत्वपूर्ण रहेको विज्ञ क्षेत्री बताउनुहुन्छ । उहाँको अनुसार कानूनीरुपमा डोल्पा, दार्चुला, जुम्ला, मुगु, सिन्धुपलाञ्चोक, रुकुम, धादिङ, जाजरकोट र बझाङ गरी नौ जिल्लाबाट मात्र व्यावसायिक संकलन भएको देखिन्छ ।

आव २०५८/५९ मा ३.१ केजी संकलन तथा निकासी भएकोमा क्रमिक रुपमा बढ्दै गएको छ । संसारभरि यार्सागुम्बाका ५०० भन्दा बढी प्रजाति रेकर्ड गरिएका छन् भने नेपालमा हालसम्म यार्सागुम्बाका ११ प्रजाति पहिचान भएको विभागले जनाएको छ । यार्सागुम्बा एक प्रकारको हेपियालिडिइ परिवारको लेपिडोप्टेरा वर्गको लार्भा किरालाई संक्रमित गरेर उम्रने परजीवी ढुसी हो ।

कहाँ पाइन्छ यार्सागुम्बा ?

नेपालमा यार्सागुम्बा वर्षमा छ महिना हिउँले ढाकिने तीन हजार ९०० मिटरदेखि पाँच हजार १०० मिटरसम्मका हिमाली घाँसे मैदान (पाटन) मा पाइन्छ ।

यसको प्रयोग खासगरी दम, क्षयरोग, लहरेखाकी, किड्नी, फोक्सो, नपुसंकता, रक्तचापसम्बन्धी रोगको उपचार, थकान घटाउने, शरीरको रोगसँग लड्ने क्षमतामा विकास, अनियमित रक्तस्राव रोक्नका लागि भएको पाइन्छ ।

विसं २०५८ सम्म यार्सागुम्बाको संकलन, ओसारपसार तथा प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको थियो । तर यसको उत्पादन र व्यवसायीकर्ताको महत्वलाई बुझेर नेपाल राजपत्र २०५८ पुस १६ गते अनुसार वन नियमावलीमा संशोधन गरी यार्सागुम्बा संकलन, ओसारपसार र प्रयोगमा फुकुवा गरिएको हो ।

यार्सागुम्बाको दिगो व्यवस्थापनका लागि कूल उत्पादन हुनसक्ने परिणामको ८० प्रतिशत मात्र संकलन गर्नु उपयुक्त हुने हालसम्मको अध्ययन र संकलनको अनुभवले देखाएको छ । चीन, हङकङ, मलेशिया, जापान यसको मुख्य बजार केन्द्र हो ।

यार्सागुम्बाको महत्वलाई मध्यनजर गरी नेपाल विज्ञान तथा प्रविधि महाशाखा (नास्ट)ले पहिलो पटक विस्तृत अध्ययन शुरु गरेको छ । नास्टले यार्सागुम्बाका प्रकार, अवस्था, गुणस्तरलगायत विषयमा अनुसन्धानका लागि तीन जना वैज्ञानिकको टोली बनाएको छ ।

टोलीमा डा जयकान्त राउत, डा रामचन्द्र पौडेल र डा लोकरञ्जन भट्ट रहनुभएको छ । टोलीले हाल अध्ययन, अनुसन्धान, स्थलगत तथा सम्बन्धित समुदायसँग यार्सागुम्बाका बारेमा छलफल तथा जानकारी लिने कार्य गरिरहेको डा भट्टले बताए ।