पर्यटक बसका चालक नै मापसे गरेर सवारी चलाउँछन्

काठमाडौँ– जेठ २१ गते काठमाडौँबाट ४० पर्यटक बोकेर पोखरा हिँडेको ज१प १६० नंको पर्यटक बसका चालक मापसे गरेकाले ट्राफिक फन्दामा परे ।

जेठ २० गते राति ८ः१५ बजे २५ यात्रु बोकेर काठमाडौँबाट बागलुङ जान लागेको ध१ख ६१३ नंको बस कलंकीमा ट्राफिक प्रहरीको कारवाहीमा प¥यो ।

सोही दिन राति ८ बजे काठमाडौँबाट ३५ यात्रु बोकेर भैरहवाका लागि हिँडेको ना६ख १०८० नंको यात्रुबाहक बस कलंकीमा ट्राफिक प्रहरीको कारवाहीमा प¥यो ।

जेठ २२ गते साँझ ४ः३० बजे काठमाडौँबाट ४० जना यात्रु लिएर बागलुङ जान लागेको बा५ख १५५४ नंको बस ट्राफिक प्रहरीको फन्दामा प¥यो ।

सोही दिन साँझ ८ः३० बजे काठमाडौँबाट ३० जना यात्रु लिएर विराटनगर जान लागेको ना६ख १५६१ नं को बस जाँचका क्रममा ट्राफिक प्रहरीको फन्दामा प¥यो ।

यी त केबल प्रतिनिधि घटनामात्र हुन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले तीन दिनमा सातजना रात्रिकालीन बस चालकलाई मादक पदार्थ सेवन गरी सवारी चलाएकाले नियन्त्रणमा लिएको छ ।

चालकको लापरवाहीका कारण वर्षेनी हजारौँ यात्रु दुर्घटनाको शिकार बनिरहेका छन् । सोही घटनालाई मध्यनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले रात्रिकालीन बस जाँचका घटनालाई कडाइ गरेको छ ।

महाशाखाले नियन्त्रणमा लिएका रात्रिकालीन बस चालकलाई सार्वजनिक मुद्दा चलाएको छ भने सम्बन्धित समितिबाट नयाँ चालक झिकाएर यात्रुलाई गन्तव्यस्थलसम्म पुग्ने वातावरणसमेत मिलाएको छ ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त रात्रिकालीन बस चालकले मापसे गरी सवारी चलाएको भन्ने जनगुनासो आएपछि महाशाखाले रात्रिकालीन सवारी साधनलाई कडाइका साथ जाँच गरेको बताउँछन् । ‘एउटा चालकको लापरवाहीका कारण कोही पनि यात्रु दुर्घटनाको शिकार नबनुन् भन्ने हाम्रो प्रमुख लक्ष्य हो’, उनी भन्छन् ।

महाशाखाले चालू आर्थिक वर्षको अहिलेसम्म ७९ रात्रिकालीन बस चालकलाई नियन्त्रणमा लिएर कारवाही गरिसकेको छ ।

टुरिष्ट बस एशोसिएसन अफ नेपाल (टिवान) का अध्यक्ष प्रह्लाद लोहनी मापसे गरी सवारी चलाउने पर्यटक बस चालकलाई कडा कारवाही गर्नुपर्ने बताउँछन् ।

‘पर्यटक बसले स्वदेशीमात्र नभएर विदेशी पाहुनासमेत बोक्ने हुँदा चालक भद्र र नरम हुनुपर्छ, जथाभावी गर्ने चालकले पर्यटक बस चलाउन पाइँदैन’, उनी भन्छन् । उनले पर्यटक बस चलाएर मापसे गर्ने चालकमाथि अनुसन्धान भइरहेको बताए ।

महाशाखाले काठमाडौँ उपत्यकामा चालू आवको १० महिनामा ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाएका तीन लाख ७८ हजार ९२७ चालकलाई कारवाही गरेको छ । जसमध्ये मादक पदार्थ सेवन गरी सवारी चलाउने २६ हजार १९७ जना रहेका छन् ।

उपत्यकामा हाल ४० ट्राफिक प्रहरी एकाइबाट ट्राफिक व्यवस्थापन हुँदै आएको छ । उपत्यकामा ११ लाखभन्दा बढी सवारी साधन आवतजावत गर्छन् भने नेपालभर २७ लाखभन्दा बढी सवारीसाधन रहेका छन् ।