मुख्यमन्त्री शेरधन राई भन्छन्, प्रदेश नं १ लाई नमूना प्रदेश बनाउँछु

इलाम– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले यस प्रदेशलाई नमूना प्रदेश बनाउने बताएका छन् ।

इलाममा आजबाट शुरु भएको प्रदेश नं १ स्तरीय युवा महोत्सवलाई सम्बोधन गर्दै उहाँले युवा शक्तिलाई परिचालन गरेर यस प्रदेशलाई १० वर्षभित्रमा समृद्ध प्रदेश बनाउने प्रतिवद्धता व्यक्त गरे ।

मुख्यमन्त्री राईले विकास निर्माण, पर्यटन प्रवद्र्धन तथा कृषि र जलविद्युत्का क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर आफ्नो नेतृत्वको सरकारले काम अगाडि बढाइने बताउँदै हिमालदेखि तराईसम्म छोएको यस प्रदेशलाई समृद्ध बनाउन प्रत्येक नागरिकको उत्तिकै महत्व रहने छ भने ।

वन्यजन्तु, नदीनाला, पर्यटकीय क्षेत्र, व्यापारिक केन्द्रलगायत महत्वपूर्ण सम्पदालाई सदुपयोग गरी यो प्रदेशलाई नमूना प्रदेशको रुपमा विकास गरिनेछ, उनले भने, ‘अँध्यारोमुक्त प्रदेश बनाउनका लागि आगामी दश वर्षभित्रमा चार हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने योजना प्रदेश सरकारको छ ।’

मुख्यमन्त्री राईले वैदेशिक रोजगारीमा गएका युवालाई प्रदेशमै लगानी गर्नका लागि उपयुक्त वातावरण बनाइने कार्यलाई सरकारले विशेष प्राथमिकतामा राखिएको चर्चा गर्दै इलामको सूर्योदय नगरपालिकालाई पर्यटकीय नगरीका रुपमा घोषणा गर्नका लागि आवश्यक रकमसमेत विनियोजन भएको जानकारी दिए ।

जिल्ला युवा समिति इलामको आयोजनामा इलाम सदरमुकामस्थित चोक बजारमा आजबाट शुरु भएको सो महोत्सव असार १६ गतेसम्म सञ्चालन हुनेछ ।

युवालाई उद्यमशीलतामा जागरुक गराउने उद्देश्यले आयोजित सो महोत्सवले जिल्लाको पर्यटन प्रवद्र्धनमा सहयोग पुु¥याउने जिल्ला युवा समिति इलामका अध्यक्ष नवराज शंकरले जानकारी दिए ।

यसअघि ठूलो टुँडिखेलबाट विभिन्न जातजातिका झाँकी र पञ्चेबाजासहित निस्केको ¥यालीले इलाम बजारको विभिन्न भागको परिक्रमा गरी महोत्सवस्थलमा पुगेका थियो ।

महोत्सवमा युवा कवि सम्मेलन, युवा परिषद् र जिल्ला युवा समितिका पदाधिकारीबीच छलफल र अनुभव आदानप्रदान, मैत्रीपूर्ण क्रिकेट, युवा गजल मेला, प्रदेशका युवा उद्यमीबीच अनुभव आदानप्रदान, सांस्कृतिक कार्यक्रमलगायत विभिन्न कार्यक्रमको पनि आयोजना गरिने जिल्ला युवा समिति इलामले जनाएको छ ।

महोत्सवमा प्रदेश नं १ का १४ वटै जिल्लाको प्रतिनिधित्व हुने गरी २५ वटा कक्ष राखिएको छ ।