बेरोजगारीको बिल्ला भिरेको पनि एक बर्ष पुग्न लाग्यो, पढ्न पनि सकिएन, कुनै राजनीतिक दलमा आबद्ध हुन पनि सकिएन, न त कुनै कामको लागि कसै संग चाप्लुसि गर्न सकियो । आफै देखि बिरक्त लागेर आइसक्यो ।
ऋणको भारले रातभरी एेठन हुन्छ । आक्कल–झुक्कल देखेको सपनीमा पनि ससुरालीले गिज्याएको मात्रै देख्छु । ‘छोरी माग्ने बेलामा खुबै फुर्ति लगाएको हैन ज्वाइ नारान ? नातिनी पनि ४ बर्ष पुग्न लागिन् कुन स्कुलमा हाल्ने हो नि ?’
झसङ्ग भइ ब्युँझिन्छु, पसिना पुछ्दै छेउमा सुतेकी श्रीमतीको मलिन अनुहारमा हेर्छु कत्रो सपना बोकेर माइतीसँग बिद्रोह गरेर मसँग बिहे गरेकी थिइन् । गलाको साधा पोतेमा आँखा पुग्छ, बिहेका बेलाका सुन केही बाँकी छैन अवाक हुन्छु । पल्लो छेउमा पातलि जिउकी छोरी मस्त निन्द्रामा मन्द मुस्कानसहित देख्छु, लाग्छ… छोरीले पक्कै पनि मिठो मिठो मिठाई र राम्रा राम्रा गुडियाहरु देखिन् होलिन् सपनीमा ।
आंशु पुछे र मनलाइ दर्हो बनाए । कल्पिदा–कल्पिदै उज्यालो भएको पत्तै पाइँन ।
‘यस्तो अन्धकार पछि त उज्यालो छायो भने, मेरो जिवनको कुनै पाटोमा पनि त पक्का सफलताको झुल्को लुकेर बसेको होला नि ।’ मनलाई दर्हो बनाउछु ।
एक जना साथीलाइ फोन गरेँ ।
मः हेल्लो माधव के छ खबर ? बिहानै फोन गरे डिस्टर्ब भएमा सरि है । माधवः ठिकै छ यार, म उठिसकेको थिए । तिम्रो खबर के छ नि ? धेरै पछि फोनमा कुरा भयो त । आजकाल कता ब्यस्त छौ नि ?
मः त्यै त साथी पोहोरतिर इलामेली भेलामा भेट भएको थियो एक बर्ष बितेछ ।
माधवः के कति कामले फोन गर्यौ नि ?
मः हेर न बेरोजगार भएर बसेको पनि बर्ष दिन बित्न लागेछ । तिमी त पत्रकार जस्तो मान्छे धेरै तिर पहुँच हुन्छ , यसो कतै जागीर मिलाइदेउन ।
माधवः ए हो र ? साच्चै एउटा काम त छ भन्दै थिए कस्ले पो हो … ए याद आयो (एकछिन सोचेर) तर…
मः तर के ?
माधवः तिमी साथी पर्यौ खै भन्नै अप्ठ्यारो लाग्यो ।
मः भनन यार म एकदमै आर्थिक संकटमा छु जे काम पनि गर्न तयार छु ।
माधवः नरिसाउ है , तिमिलाइ काम मन नपरेमा नगरे हुन्छ ।
मः के काम ?
माधवः एक जना भिआइपिकोमा एउटा काम छ तर अलिक फरक किसिमको ।
मः कस्तो फरक काम ? काम त कामै हो नि ?
माधवः तीन वटा जर्मन सेफर्ड कुकुर छ त्यसैलाइ बिहान बिहान सडकमा डुलाउनु पर्ने रे । मः घर चाहिँ कस्को नि ? (काम सुन्ने बित्तिकै अचम्ममा परे)
माधवः एक जना नेताको घरमा ।
मः पैसा कति दिन्छन् नि ?
माधवः त्यस्तै पन्ध्र हजार जति, तर कुकुर डुलाउदा पूरा पेट साफ हुने गरि अनिवार्य हगाउनु पर्छ रे ।
मः मन मनै सोचे (साला… जनता यहाँ खान नपाएर छट्पटीमा छन् तिनै जनताले तिरेको करले मोज गरेर हजारौंको तीन तीन वटा कुकुर अनि सडकमा डुलाएर हगाउने लाई पन्ध्र पन्ध्र हजार दिने ) । तर के गर्नु मेरो परिवारको भोको पेटले आदर्श र सत्य संग हार खायो । जागीर खोज्दा खोज्दा पागल हुन आँटेको अवस्था, कुनै उद्यम गर्न लगानी गर्ने पैसा छैन, गाउँमा गएर खेती गर्न जमिन छैन, जमिन हुने सबै बिदेशमा, सबै जग्गा घडेरी रे ।
आ… जे सुकै होस, जस्ले जे भनोस् नेताको कुकुर सडकमा हगाएरै मासिक पन्ध्र हजार । त्यै पनि बिहान दुई घण्टा , सडक फोहोर भएर के भयो र कसैले केही भन्ने होइन क्यारे ।
मः हुन्छ हुन्छ म कहिले देखि जाउ ? नेता ज्युको घर चाहिँ कता नि ?
माधवः भोलि देखिनै गए हुन्छ । बुढानिलकन्ठ हो घर म फोन नम्बर पठाइदिन्छु ।
मैले खुशी साथ स्वीकार गरि साथीलाइ धन्यवाद दिए कुकुर हगाउने जागिरमा लगाइदिने भएकोमा ।
इतिश्री…
लेखकः सबिन भट्टराई