मजदुर संगठनबाटै लुटिएँ

रिक्सा चलाउन थालेको कति समय भयो ?

राजधानीमा रिक्सा चलाउन लागेको १८ बर्ष भयो ।

कमाई कस्तो छ ?

कमाई राम्रै छ । दैनिक तीनदेखि चार÷पाँच सयसम्म हुन्छ । तर, पहिलाको भन्दा कमै छ ।

किन कम भएको होला ?

विभिन्न कारण छन् । ट्राफिकले अनावश्यक दुःख दिन्छ, रिक्सा खासै चलाउनै पाइदैन । पहिलेको भन्दा रुट पनि कम छ ।

यो पेसामा लाग्दाको अनुभव बताइदिनुस् न ?

अठार वर्षको दौडानमा धेरै अनुभव बटुल्न पाएँ । सुरुमा त मेरो अविष्मरणीय क्षण बताउँछु । मलाई सुरूमा यो पेसामा लाग्दा खासै केही थाहा थिएन । तर, पछि बुझ्दै जाँदा आफ्नो हकहित रक्षाका निम्ति म माओवादीसम्बद्ध अखिल नेपाल रिक्सा चालक मजदुर संघमा आबद्ध भएँ । तर, प्रवेश गरेपछि मैले नसोचेको भयो । मैले सोचेको थिएँ, संगठनमा लाग्दा, समस्या पर्दा संगठन बोलिदिन्छ भन्ने तर ठीक विपरीत भयो । संगठनमा रहँदा मैले कति पीडा र यातना पाएँ, त्यो गरिसाध्यै छैन । दैनिक चार सयसम्म कमाई हुने रिक्साबाट जहान, केटाकेटी पाल्नुपर्ने मेरो बाध्यता थियो त्यसैमाथि संगठनले मलाई अनिवार्य रूपमा वार्षिक १२ सय लेभी तिर्न ताकेता लगाउथ्यो ।त्यति मात्रै तिरेर पनि पुग्दैनथ्यो । विभिन्न कार्यक्रमका नाममा मासिक सैयौँ तिर्नुपर्ने बाध्यता थियो । नतिरे भाटे कारबाही गरिन्थ्यो । म एउटा त्यस्तो मान्छे हुँ, संगठनमा लागेर जो धेरैपटक भाटे कारबाही खेपेको मान्छे ।

भाटे कारबाही भन्नुभयो, यस्तो अरु श्रमिकलाई पनि गरिन्थ्यो ?

लेभी तिर्न नसक्दा धेरैपटक संगठनले मजस्तै धेरै साथीलाई भाटे कारबाही गरेको थियो यो मैले कहिल्यै भुल्न सकेको छैन ।

अहिले पनि के त्यस्तै छ त ?

म अहिले त्यो संगठन त्यागिसकेँ । जब ममाथि बर्बरतापूर्ण यातना दिन थालियो त्यसपछि म कांग्रेसनिकट नेपाल रिक्सा तथा ठेला श्रमिक संघमा आबद्ध भएका छु ।

फेरि किन श्रमिक संघमा लाग्नु भयो ?

यो श्रमिक संघले मेरो उद्दार गरेको छ । त्यसैले पनि मलाई यो संस्थाको माया लाग्छ । यो संस्थाको सदस्य हुँदा मलाई स्वतन्त्रा र न्याय पाएको अनुभूति हुन्छ । केही बिरामी साथीहरूलाई पनि उपचारमा साथ दिएको छ । मजदुर एकतापछिको फाइदा यस संघले दिएको छ ।

खासमा रिक्सा चालकहरूको अवस्था सुधार्न के गर्नुपर्ला ?

वैज्ञानिक तवरले रिक्सा व्यवसायलाई व्यवस्थित गर्नुपर्छ । ट्राफिक प्रहरीबाट रिक्सा चालकमाथि हुने दुव्र्यबहार हटाउनुपर्छ । कुनै पनि बहानामा राज्यले हामीहरूको रोजीरोटी खोस्न हुँदैन । पुराना रिक्सालाई विस्थापन गर्ने हो भने सरकारले क्षतिपूर्ति दिनुपर्छ ।

त्यस्तै नयाँ किसिमको रिक्सा किन्न सरकारले अनुदानको व्यवस्था गर्नुपर्छ, अटो रिक्साको सवालमा लाइसेन्सका लागि उमेर हद तोकिनु हुँदैन । ५८ वर्ष पूरा गरेका अनुभवी रिक्सा चालकलाई पनि लाइसेन्स दिनुपर्छ किनभने उसले रिक्सा चलाउनुभन्दा अरु केही जानेकै छैन । उसको परिवार पाल्न उसले श्रम गर्न पाउनु पर्छ ।

अन्त्यमा… ?

राजधानीमा रिक्सा चलाउने श्रमिकमाथि मजदुरको नाम बेच्दै विभिन्न संगठनले मजदुरलाई नै ठगेका छन् । तिनलाई सरकारले कानुनी दायरामा ल्याउनुपर्छ । रिक्सा चालकको अधिकारलाई रक्षा गर्न सरकारले स्पष्ट रूपमा नीतिगत व्यवस्था गर्न जरुरी छ ।